काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र सञ्चारकर्मी तथा अभियान्ता कनकमणि दीक्षितबीच ट्वीटरमा आरोप-प्रत्यारोप छेडिएका बेला विवेकशीलकी रन्जु दर्शनाले भट्टराईको योगदान भुल्न नहुने बताएकी छन्। ट्वीटरमा ‘डलरमणि’ र ‘भारुराम’को चर्चा चलिरहेका बेला बाबुरामको पक्षमा दर्शनाको यस्तो अभिव्यक्ति आएको हो।
देश विदेशबाट वि-द्रोही पक्षलाइ बदनाम गर्न अर्बौ लिएको आरोप लगाउँदै दर्शनाले दीक्षितलाई डलरमणी भन्दा अन्यथा नहुने ट्वीटरमा जिकिर गरेकी छन्।
उनी लेख्छिन्,”देश गृहयु-द्धमा होमिएको वेला देश विदेशबाट वि-द्रोही पक्षलाई बदनाम गर्न अर्बौं भिक्षा लिने तपाइलाई डलरमणी भन्दा अन्यथा हुदैन।” बाबुराम भट्टराईकै कारण देशमा वाक स्वतन्त्रता सहितको व्यवस्था आएको समेत दर्शनाले दीक्षितलाई ट्वीटरमार्फत नै स्मरण गराएकी छन्।
“नभुल्नुस जसरी तपाइले खुलेआम वाक स्वतन्त्रता पाइरहनुभएको छ, यो ब्यवस्था ल्याउन बाबुराम भट्टराईको अमुल्य योगदान छ।”,दर्शनाले ट्वीटरमा लेखेकी छन्।
ट्वीटरमा ‘भारुराम’ र ‘डलरमणि’
धेरै समय देखि भट्टराई र दीक्षित एक अर्काको आलोचकको रुपमा छन्। विभिन्न समयमा यी दुई बीच ट्वीटरमा आरोप-प्रत्यारोप चल्ने गरेको छ। बाबुरामले ठोरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको विरुद्धमा अभिव्यक्ति दिएपछि यी दुई बीच पुनः आरोप-प्रत्यारोप चलेको हो।
दिक्षितले तत्कालिन माओवादीले अस्पताल, स्कुल भत्काएको कुरा उल्लेख गरेपछि बाबुरामले दीक्षितलाई लक्षित गरेर ‘डलरमणि’ समेत भनिदिए। जसपश्चात दिक्षितले आफूलाई भट्टराईले समय-समयमा ‘डलरमणि’ भन्ने गरेको उल्लेख गर्दै आफू भने बाबुरामलाई ‘भारुराम’ नभन्ने भन्दै ट्वीट गरे।