कुलमान घिसिङले भने – ‘देश उज्यालो युगमा प्रवेश गर्यो, मेरो कार्यकाम सफल भयो’

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल उज्यालो युगमा प्रवेश गरिसकेको बताएका छन्। सोमबार नेपाल विद्युत प्राधिकरणको ३५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै घिसिङले नेपाल उज्यालो युगमा प्रवेश गरिसकेको बताएका हुन्।

साथै उनले चार वर्षे आफ्नो कार्यकाल सफल भएको पनि बताएका छन्। प्राधिकरणलाई गएको चार वर्षमा प्रतिष्ठित संस्थाका रुपमा उभ्याउन कर्मचारीदेखि सरकारसम्मको साथ मिलेको उनले बताए। कर्मचारीदेखि सरकारसम्मको साथकै कारण देश उज्यालो बाटोमा लागेको उनको भनाई छ।

पहिला कर्मचारीलाई तलब खुवाउन सरकारको मुख ताक्नुपर्ने अवस्थाबाट माथि उठेर सबैभन्दा बढी कमाउने सार्वजनिक संस्थानको रुपमा उभिन सक्नु देशकै लागि गर्वको कुरा रहेको उनले सुनाए।

“हामी उज्यालो युगमा प्रवेश गरेका छौँ। यो हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धी हो। चार वर्ष अघि हामी अँध्यारो मात्र होइन, कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नुपर्ने अवस्था थियो। गएको वर्ष मात्र हामी सबैभन्दा बढी कमाउने सार्वजनिक संस्थान भएका छौं”,उनले भने।

चार वर्षअघि ३४ अर्बको सञ्चित नोक्सानीमा रहेको संस्था अहिले ४ अर्ब ८७ करोड सञ्चित नाफाको अवस्थामा पुगेको घिसिङको भनाई छ। बिजुली चुहावट घटाउन तथा पहुँच विस्तारका लागि प्राधिकरणले काम गरिरहेको पनि उनले जानकारी गराए। प्राधिकरणको लगातार प्रयास पश्चात ८६ प्रतिशत पहुँच विस्तार भएको उनको भनाई छ।

प्रकाशित : सोमबार, भदौ ०१, २०७७०९:३७

वाग्मती प्रदेशसभाकी उपसभामुखमा कोरोना सङ्क्रमणको पुष्टि !