काठमाडौँ – काठमाडौँ उपत्यकामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने तयारी गरिएको छ। कोरोना सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएसँगै उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो।
कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तीनवटै जिल्लामा पुनः लकडाउन वा निषेधाज्ञा जारी गर्ने तयारीमा जुटेका छन्।
संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको पाइएसँगै पुनः लकडाउन वा निषेधाज्ञा बारे आफूहरु छलफलमा जुट्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन्।
आज बस्ने तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहिको बैठकले आवश्यक निर्णय लिने बताइएको छ। कोरोना भाइरस संक्रमणको जोखिम र फैलावटको अवस्था हेरेर स्थानीय प्रशासनले नै आवश्यक निर्णय गर्न पाउने अधिकारि सरकारले दिसकेको छ। सरकारले अधिकार दिएसँगै लकडाउन गर्ने अथवा निषेधाज्ञा जारी गर्ने भन्ने जिम्मेवारी स्थानीय प्रशासनको मातहत आइपुगेको छ।
कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार भन्दै बढी कोरोना संक्रमित फेला परिसकेका छन्। उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित बढ्न थालेका हुन् ।
उपत्यकामा सबै भन्दा बढी काठमाडौँ जिल्लामा संक्रमित छन्। काठमाडौँमा १ हजार ७ सय भन्दा बढी संक्रमित छन्, भक्तपुरमा करिब १ सय ५० र ललितपुरका २ सय ८० भन्दा बढी संक्रमित छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा देशकै बढी सक्रिय संक्रमित संख्या छ। अहिले संक्रमित संख्या १ हजार ९ सय भन्दा बढी रहेको मन्त्रालय श्रोतले जनाएको छ।