एजेन्सी – इटालियन सिरी ए च्याम्पियन युभेन्टसका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वसहयात्री करिम बेन्जेमालाई लिएर चासो व्यक्त गरेका छन्। रोनाल्डोले बेन्जेमाको ट्रान्सफरलाई लिएर चासो व्यक्त गरेका हुन्। बेन्जेमा युभेन्टस आइदिउन् भन्ने रोनाल्डोको इच्छा रहेको बताइएको छ।

सन् २०१९-२०को सिजनमा च्याम्पियन बन्दा युभेन्टसले लगातार नवौं पटक इटालियन सिरी ए जितेको छ। तर, यूईएफए च्याम्पियन्स लिग जित्ने उसको योजना भने सफल हुन सकेन। यूईएफए च्याम्पियन्स लिग जित्नकै लागि रोनाल्डो ल्याइएको भएपनि अहिले सम्म त्यो हुन सकेको छैन।
आगामी सिजन च्याम्पियन्स लिग जित्नैको लागि रोनाल्डोले बेन्जेमाको साथ खोजेको ग्याजेटा डेलो स्पोर्टले जनाएको छ। ग्याजेटा डेलो स्पोर्टले गरेको दावी अनुसार रोनाल्डोले युभेन्टस बोर्ड समक्ष बेन्जेमा ल्याउन सुझाव दिएका छन्।

रोनाल्डो म्याड्रिडमा हुँदा रोनाल्डो र बेन्जेमा बीच उत्कृष्ट ‘केमेस्ट्री’ देखिएको थियो। दुई बीचको घातक साझेदारीकै कारण रियल ला-लिगा देखि च्याम्पियन्स लिग सम्मको च्याम्पियन बनेको थियो।
रोनाल्डोले चासो राखेको थाहाहुन आएपनि बेन्जेमा भने म्याड्रिडमै खुशी रहेको बताइन्छ। ला-लिगा १९-२० सिजनमा म्याड्रिडलाई ला-लिगा च्याम्पियन बनाउन बेन्जेमाको महत्वपूर्ण भूमिका रह्यो। जसक्रममा उनले २१ गोल र ८ असिस्ट गरे।

बेन्जेमा सन् २००९ देखि म्याड्रिडमा छन्। त्यसयता क्लबमा रहेर उनले धेरै सफलता पनि हाँसिल गरेका छन्।

