डडेल्धुरा । नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा शाखाले सेटिङमा टेन्डर मिलाउन खोजेको सार्वजनिक भएको छ । रेडक्रस परिसरमा रहेको दुईतले भवन भाडामा दिनका लागि साउन २६ गते सूचना प्रकाशित गरी साउन ३२ गतेसम्म सिलबन्दी बोलपत्र खरिद गर्न सकिने र भदौ १ गते दिउँसो १२ बजेसम्म बोलपत्र दर्ता गर्न सकिने गरी सुचना प्रकाशित गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
साही दिन दिउँसो २ बजे बोलपत्र खोलिने समेत सुचनामा उल्लेख गरिएको थियो । मासिक बहाल न्युनतम रकम १० हजार बोलपत्रमा तोकिएको भए पनि अधिकतमको सिमा तोकिएको थिएन बोलपत्र दर्ता गराउने समयभित्र ११ जनाले बोलपत्र दर्ता गराएका थिए ।
तोकेको समयमा बोलपत्र खोलिएन । भदौ १ गते बैठक भएकोले बोलपत्र खोल्न नसकिने बताएको थियो । तर सोही राति सवैका टेण्डर खोलेर रेडक्रसले पुन लाहा छापा र पिन लगाएर राखेको अवस्थामा भेटियो ।
११ वटा टेन्डरमध्ये डडेल्धुराकै प्रकाश जोशीले २० हजार २ सय रकम मासिक भाडा दिने गरी बोलपत्र भरेको पाइयो । तर रेडक्रसले दिन चाहेको व्यक्तिको रकम त्यो रकम भन्दा कम भएकोले टेन्डर प्रक्रिया नै अन्तमा बद्दर गरिएको बताइएको छ । बोलपत्रकर्ताहरुकै विरोधपछि टेण्डर प्रक्रिया स्थगित गरेको रेडक्रस जिल्ला शाखाका प्रशासकीय अधिकृत किशोर अवस्थीको भनाइ छ ।
११ जना मध्ये जुनसुकैको बोलपत्र स्वीकृत भए पनि हामी सहमत थियौ, तर भदौ १ गते दिउसो खोल्ने भनिएको टेण्डरलाई अन्य बैठक भएकोले खोल्न नसकिने जवाफ दिने रेडक्रसका कर्मचारीले किन राति दर्ता भएका टेन्डर हेर्नुपरेको थियो, प्रश्न अनुत्तरित छ ।