“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको ।”
नेपाली जनमनमा लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन । वर्तमान आधूनिक कविता, विशेषतः छन्कवितार गीति लेखनमा सर्वाधिक शिखरमा पुगेका राष्ट्रकवि घिमिरेको मंगलबार साँझ लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा निधन भएको हो । उनी आउँदो असोज ७ गते १०२ वर्ष पुग्दै थिए । उनको शवलाई अहिले निवासमै राखिएको छ भने साहित्यकार र शुभेच्छुक श्रद्धाञ्जलिका लागि जाने क्रम सुरु भएको छ ।
कोरोना महामारीको जोखिम भएकाले भीडभाड गर्ने स्थिति छैन । उनको निवासमा नेपाली सेनाको टोली पनि जाने तयारी गरेको छ । राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गर्नुभएको थियो ।
कविवर घिमिरेका छोरी मञ्जु अधिकारीले उनी उमेरगत कारणले पछिल्ला दिनमा सामान्य अस्वस्थता भएको र आफ्नो जीवनको अर्को अनुपम कृति ‘ऋतम्भरा’ महाकाव्य लाई प्रकाशनको तयारीमा रहेको बताएकी छन् । छोरी अधिकारीका अनुसार उक्त महाकाव्यलाई उनले लगभग पूरा गरेका थिए । तर छन्द मर्मज्ञ र परिष्कारवादी कवि भएकाले पटकपटक आफैले परिष्कार गरेपछि मात्रै प्रेसमा दिने स्वभावका हुने भएकाले प्रकाशन हुन पाएको थिएन । छोरी अधिकारीले भनिन्, “सो महाकाव्यलाई अब भाइहरुले प्रकाशनमा ल्याउनेछन् । जीवन एक यात्रा हो । बुबा अब नयाँ यात्रामा प्रविष्ट हुनुभएको छ ।”
कविवर घिमिरेका पछिल्ला समयमा “बुढेससम्मन् पनि ज्यून जानैँ यो जीवनीको रस प्यून जानौँ” जस्ता भावका काव्यरस प्रकाशित भएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले पारिवारिक स्रोतबाट कविवरको निधन भएको जानकारी पाउँदा दुःख लागेको र कार्यालयबाट घर आइसकेको भए पनि आफूहरु श्रद्धाञ्जलिका लागि लैनचौरमा जान लागेको र अन्त्येष्टिका लागि नेपाल सरकारबाट हुने राष्ट्रिय सम्मानको निर्णय आएपछि थप जानकारी दिइने बताए ।
घिमिरे सय वर्ष पुगेको वर्ष मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले उक्त वर्षभरि जन्म शताब्दी मनाई उहाँको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायत कार्यक्रम गरेको थियो ।
लमजुङको पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट जेठा सन्तानका रुपमा जन्मनुभएका घिमिरेको जन्म शताब्दी र अर्धाङ्गिनी महाकाली घिमिरे ८४ वर्ष प्रवेशको अवसरमा निवासमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको थियो ।
घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उहाँले रचेको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन् । राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ । उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्र्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका पाइन्छन् । उनका श्रीमती, दुई छोरा र ६ छोरी छन् ।