काठमाडौँ – म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् । विभिन्न युनिटबाट खटिएको प्रहरी टोलिले म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने ९ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग समेत रहेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।
महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेहरु विरुद्ध राज्य विरूद्धको अपराध, साइबर अपराध र राष्ट्रिय झण्डा जलाएको लगायतमा अनुसन्धान आकर्षित हुनेछ।
मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरिएको छ। यदि कसैले यस्तो गरेको खण्डमा ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ।
सोमबार ‘मङगोल हप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘देशद्रोही’ नामको गीतमा राष्ट्रिय झण्डा जलाएको थियो। साथै उक्त गीतमा विशेष गरेर नेपालका बाहुन-क्षेत्री सबै शरणार्थी हुन् भन्ने देखाइएको थियो। गीत तथा भिडियोको सर्वत्र विरोध भएपछि नेपाल प्रहरीले आफ्ना विभिन्न युनिटहरूलाई खटाएको थियो।