एंगल डी मारियाको उत्कृष्ट खेलको मद्दतमा आर.बी लेप्जिंगलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पी.एस.जी) इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।
पोर्चुगलको लिस्बोनमा भएको रोमान्चक खेलको १३ औं मिनेटमा पी.एस.जीका मार्किनियोसले गोल गर्दै फ्रेन्च च्याम्पियनलाई अग्रता दिलाएका थिए। खेलको ४२ औं मिनेटमा एंगल डी मारियाले गोल गर्दै पी.एस.जीको अग्रता दोब्बर पारे। पहिलो हाफमा २-० को अग्रता लिएको पी.एस.जीको लागि तेस्रो गोल जुवान बर्नार्टले ५६ औं मिनेटमा गरे। फ्रेन्च च्याम्पियनको लागि उत्कृष्ट प्रदर्शन गरेका डी मारिया खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनले १ गोल गर्नुका साथै २ असिस्ट पनि प्रदान गरेका थिए।
पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको पी.एस.जीले अब आज रति हुने बार्यन म्युनिख र लियोन बीचको विजेतासंग २४ अगस्टमा उपाधिको लागि भिड्नेछ।
आज रति बार्यन म्युनिख र लियोन भिड्दै आज राती हुने सेमी-फाइनल चरणको दोस्रो खेलमा जेर्मन महारथी बार्यन म्युनिख र फ्रेन्च क्लब लियोन भिड्दै छन्। बार्यनले अघिल्लो चरणमा स्पेनिस क्लब बार्सिलोना माथि ८-२ को ऐतिहासिक जित निकाल्दै सेमी-फाइनलमा प्रवेश गरेको हो भने लियोनले प्रतियोगिताको अब्बल मानिएको टोली म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै सेमी-फाइनलको यात्रा तय गरेको हो।
५ पल्टको विजेता बार्यन आजको खेल जित्दै फाइनलमा पी.एस.जीसंगको भेट पक्का गर्न चाहन्छ भने प्रतियोगितामा युभेन्टस्, म्यानचेस्टर सिटी जस्ता बलिया टोलीलाई पराजित गरिसकेको लियोन बार्यनलाई हराएर फाइनलमा प्रवेश गर्ने दाउमा हुनेछ। यस सिजन ट्रेबल उपाधि जित्ने दाउमा रहेको बार्यनको साथमा रोबर्ट लेवान्डोस्की, थोमस मुलर जस्ता स्टार खेलाडी हुनेछन् भने लियोनको साथमा मेम्फिस डिपे, मौसा डेम्बेले जस्ता प्रतिभावान खेलाडी हुनेछन्।
खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ।