एजेन्सी – मुसलमानहरू माथि दमन गरेको आरोप लाग्दै आएको चीन माथि अर्को एक आरोप लागेको छ। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार चीनले मस्जिद भत्काएर त्यसठाउँमा अहिले सार्वजनिक शौचालय बनाएको आरोप लागेको छ।
उत्तर पश्चिमी चीनको शिनजियांग उइघुर स्वायत्त क्षेत्रको आटुश शहरमा ध्वस्त मस्जिदको ठाउँमा सार्वजनिक शौचालय बनाइएको आरएफए रिपोर्टले दावी गरेको छ।
आरएफएको एक रिपोर्ट अनुसार अतुशको सुन्ताग गाउँको रहेको टोकुल मस्जिद सन् २०१८ मा ध्वस्त पारिएको थियो, र अहिले त्यहाँ शौचालय बनाइएको छ।
आफूहरुसँग कुराकानी गर्नेक्रममा उइगुर छिमेकी समितिका प्रमुखले त्यस ठाउँमा शौचालय बनाइएको बताएको आरएफएको दावी छ। यधपी शौचालय भने खुला नगरिएको यी प्रमुखको भनाई छ। ध्वस्त पारिएको मस्जिदको भग्नावशेषलाई लुकाउन त्यहाँ शौचालय बनाइएको बताइएको छ।
चीनमा मुस्लिमहरुको लामो इतिहाँस छ। चीनमा करिब हजार वर्ष भन्दा अगाडी देखि मुस्लिम रहँदै आएका छन्। त्यती मात्र नभई चीनमा टर्कीबाट आएका उइगुर समूदायका मुस्लिम पनि छन्। चीनमा २ करोड भन्दा बढी मुस्लिम छन्। जसमध्ये आधा भन्दा बढी उइगुर समूदायका छन्।
मुस्लिम समूदाय माथि दमन गर्ने तथा मस्जिद भत्काउने गरेको आरोप चीन माथि लाग्दै आएको छ। तर, चीनले भने त्यस्ता आरोपको खण्डन गर्ने गरेको छ।