बजार बन्यो बगर, सुतिरहेका सबै बगे !

अछाम । कैलाश खोलामा आएको बाढीका कारण रामाशोशन गाउँपालिका–५ सैनीबजारमा पसलमा सुतेका १७ जनालाई बगाएको छ । बुधबार विहानै आएको बाढीले बगाउदा बेपत्ता भएका १७ जना मध्ये १२ जनाको शव फेला परेको छ । फेला परेका शव पनि चिन्न सक्ने अवस्थामा रहेका छैनन् । कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार बुधबार विहान १ बजेतिर आएको बाढीले बजारमा पसल गरेका व्यवसायीहरुलाई बगाएको हो । राति सुतिरहेका बेला बाढीले घरहरु बगाउदा उनिहरु भाग्न समेत नपाएका हुन् । पसल गर्नेहरु आफ्नै पसलसँगै सुत्ने गरेका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

सानो बजार भएकाले त्यहा ठुलो संख्यामा बस्ती समेत थिएन । बजारमा कसैको पसल थियो त कसैको घर । पसल र घर सँगै हुनेहरु पनि थिए । साँझ ७ बजेबाट पानी पर्न थालेको थियो । सैनीबजारको माथिल्लो भेकमा रहेको लेकतर्फ भारी वर्षा हुन थाल्यो र तर त्यही पानीले एकाएक बजार ध्वस्त पार्यो । रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदका अनुसार खोला एकाएक सुनामीजस्तै गरेर आएको बताए । ‘कसैलाई बचाउन सकिएन । ५ मिनेटमै सबै सकियो । सुतेकाहरु ऐयासमेत भन्‍न पाएनन् । राति सुतेकाहरु बिहान भेटिएनन् । ४/५ सय पशुचौपाया बगेका छन् । बजार केही बाँकी रहेन । सबै मरभूमिजस्तै भइदियो’ उनले सुनाए ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधि र स्थानीयबासिले विहानैदेखी खोजी गरेका थिए । बेपत्ता भएकामध्ये कतिपयको शव बजारभन्दा २० घण्टा टाढा भेटिएको थियो । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा ६ तथा मङ्गलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा ६ जना गरी जम्मा १२ जनाको शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए । भेटिएका शवमा कुनैमा कपडा नभएको र कतिपयमा चिन्न नसक्ने अवस्थामा रहेकाले कुन शव कसको हो भनेर भन्ने अवस्था नरहेको उनले बताए ।

कैलाश खोलाले बगाउँदा उक्त ठाउँ अहिले निकै डर लाग्दो भएको स्थानीय युवा पुष्प बिष्टले बताए । ‘हिजोको रमाईला बजार आज खण्डहरमा परिणत भएको छ पसल होटल केहि बाँकी छैन । बचेका घर पनि उच्च जोखिमा छन’, उनले भने । शव फेला परेका मध्ये ३ जनाको मात्र सनाखत भएको छ । रामारोशन गाउँपालिका ५ वस्ने १५ वर्षीय नवीन साउँद, ३२ वर्षीय गौरि शाह, ४८ वर्षीय चन्द साउँद रहेका छन ।

प्रहरीका अनुसार बाढीमा परि बेपत्ता हुनेमा ४७ वर्षीय नन्दु साउँद, ४५ वर्षीय गंगा साउँद, १७ वर्षीय रुपेस साउँद, ६ वर्षीय प्राप्ती साउँद, ६० वर्षीय जोगा साउँद, ४५ वर्षीय अम्मर शाह, ४० वर्षीय पवित्रा देवी शाह, ४ वर्षीय शमिर शाह, ३५ वर्षीय सम्झना शाह, ४५ वर्षीय बसु साउँद, ४५ वर्षीय लालसरा शाही, र ९ वर्षीय वसन्त शाही रहेका छन् । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा एक महिला र एक पुरुषको शव भेटिएको छ । यस्तै एक महिला र एक पुरुष गरी दुई जनाको शव दर्नास्थित कैलाश खोलाको किनारमा भेटिएको छ भने दुई जनाको शव मंगलसेन नगरपालिका–३ स्थित दयमा भन्ने ठाउँमा भेटिएको प्रहरीले जनाएको छ ।

कैलाश खोलामा आएको बाढिले २ लघुजविद्युत आयोजना र १ भुगडा स्वास्थ्य चौकीको एम्बुलेन्स र नेपाल टेलिकमको १ बुलेरो जिप, १ झुलङ्गेपुल गाउँपालिकाको सभा हल र क्याबिन समेत बगाएको छ । यसैगरि चौपायको समेत क्षती भएको छ ।

प्रकाशित : बिहिबार, भदौ ०४, २०७७०१:२३

लक्षणसहितका संक्रमितको संख्या बढ्न थाल्यो !