बागलुङमा एकै परिवारका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुई साता अघि धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनीहरुको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको खोजी गर्ने क्रममा एकै परिवारका ६ जना कोरोना संक्रमित रहेको पुष्टि भएको हो।
स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि धौलागिरी अस्पतालले गरेको कन्ट्याक्ट ट्रेसिङ गर्दा बागलुङ नगरपालिका–३ कि एक महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो। संक्रमित पुष्टि भएकी महिलाको घरमा ट्रेसिङका लागि पुगेको स्वास्थ्यकर्मीको टोलीलाई परिवारले स्वाब परिक्षणको लागि स्वाब दिन मानेनन्। धौलागिरी नगरपालिकाको आदेशमा प्रहरीले परिवारको स्वाब संकलन गर्न दबाब दियो। भदौ एक गते संकलन गरिएको परिवारका सबै सदस्यको स्वाबको रिपोर्ट पोजेटिभ आयो।
बुधबार बागलुङमा उक्त परिवारका ६ सहित ८ जना संक्रमित थपिएका छन्। संक्रमित हुने अन्यमा वडिगाड गाउँपालिकामा १ जना र जैमिनी नगरपालिकाका १ जना छन्।
सोही परिवारकी एक महिलामा संक्रमण देखिएपछि उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए।
एकै परिवारका धेरै मानिस संक्रमित पाइएपछि बागलुङमा कोरोनाको संक्रमण सामुदायिक रुपमा नै फैलिएको हुनसक्ने धौलागिरी अस्पतालको आइसोलेसनमा रहेका एक स्वास्थ्यकर्मीले बताए। उनले भने,” हामीबाट होइन, समुदायबाट नै हामीलाई कोरोना लागेको हो जस्तो लाग्न थालेको छ।”
बागलुङमा एकै परिवारका धेरै सदस्यमा संक्रमण देखिएको यो पहिलो पल्ट हो।