काठमाडौँ – कोरोना महामारीका बीच उपचार नपाएर एक मृगौला पिडितको ज्यान गएको छ। समयमा डायलोसिस गर्न नपाउँदा धनुषामा एक मृगौला पिडितको ज्यान गएको हो।
ज्यान गुमाउनेमा धनुषा जिल्ला सवैला नगरपालिका वडा नम्बर २ का ३२ वर्षीय प्रमोद कुमार महतो रहेका छन्। मृगौला पिडित रहेका उनीमा पछिल्लो समय श्वास-प्रश्वासमा समस्या देखिएको थियो।
श्वास-प्रश्वासमा समस्या देखिएपछि आफूहरुले छोरालाई प्रादेशिक अस्पताल जनकपुर पुर्याएपनि उचित उपचार नपाउँदा ज्यान गएको मृतकका ५५ वर्षीय बुवा जोगेन्द्र महतो र ५० वर्षीया आमा रामकुमारी महतोले बताएका छन्।
मृतकका पिताका अनुसार उनले छोरालाई भदौ २ गते बिहान १० बजे प्रादेशिक अस्पताल जनकपुर पुर्याएर इमर्जेन्सी कक्षमा भर्ना गराएका थिए। त्यहाँ प्रमोद कुमारलाई डाक्टरहरुले सुई समेत लगाएका थिए। त्यसले उनलाई ठीक पार्न भने सकेन। त्यसपश्चात डायलोसिस गर्नुपर्छ भनेर डाक्टरहरुले अस्पतालकै डाइलायसिस वार्डमा राख्न सुझाव दिएका थिए। तर, त्यहाँ डायलोसिस नपाउँदा उनको ज्यान गयो।
मृगौला बिरामीले समयमै डायलोसिस नपाउँदा फोक्सोदेखि श्वासप्रश्वाससम्म असर देखा पर्ने डाक्टरहरुको भनाई छ। प्रमोदले डायलोसिस वार्डमा समयमा उपचार नपाएकै कारण ज्यान गएको त्यहाँका डाक्टरहरुले समेत स्वीकार गरेका छन्। नर्सले स्वास्थ्यकर्मी नरहेका कारण डायलोसिस हुँदैन, बाहिर लैजानुस् भनेपछि अन्त ल;लैजान सम्भव नहुँदा प्रमोदको ज्यान गएको उनका पिताको भनाई छ।