एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको फाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली च्याम्पियन्स पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्ने भएका छन् । बायर्नले बुधबार राति भएको दोस्रो सेमिफाइनलमा लियोनलाई ३-० ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको हो भने पीएसजीले मंगलबार आरबी लाइप्जिगलाई ३-० ले नै पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
च्याम्पियन्स लिगको जारी सिजनमा लगातार १० खेलमा जीत निकालिसकेको बायर्न उच्च मनोबलका साथ उत्रनेछ भने पीएसजी पहिलो पटक च्याम्पियन्स लिग जित्ने भोक सहित मैदानमा उत्रनेछ।
यसै बीच बायर्नका युवा डिफेन्डर बेन्जामिन पाभार्डले आफ्नो देश फ्रान्सको क्लब विरुद्ध हुने खेललाई लिएर आफू धेरै नै उत्सुक रहेको बताएका छन्। पीएसजी विरुद्धको खेललाई लिएर आफू उत्साहित रहेको र खेलको नतिजा आफ्नो पक्षमा हुनेमा उनी ढुक्क छन्।
“च्याम्पियन्स लिग ! अझ त्यसमा पनि फाइनल मेरो सपना नै हो। त्यस माथि फ्रान्सेली क्लबसँग खेल्ने पक्का भएपछि म थप उत्साहित भएको छु।”, लियोनलाई पराजित गरेपश्चात उनले भने।
बुधबार रातिको खेलमा लियोनलाई रोक्न सकेको विषय बारे टिप्पणी गर्दै उनले आफूहरुले डिफेन्समा केहि खुल्ला गरेको स्वीकारे। यदि कसैगरी डिफेन्समा केहि गल्ति भएको भए नतिजा फरक हुन सक्थ्यो भन्ने उनको स्वीकारोक्ति छ। फाइनलमा आफूहरु उच्च मनोबल सहित मैदानमा उत्रने उनी बताउँछन्। किलियान एम्बाप्पे र नेयमारको घातक जोडी बारे टिप्पणी गर्दै उनले आफूहरु नडराउने बताए।
उनले भने,”एम्बाप्पे, नेयमार सहितको टिम पूर्ण छ। तर, हामी डराउने छैनौँ। हामी उत्कृष्ट छौँ, उत्कृष्ट भएकै कारण फाइनल सम्म आइपुगेका हौं। सन् २०१९-२० सिजन गज्जब रह्यो। च्याम्पियन्स लिग जुट्दै थप गज्जब बनाउने हाम्रो प्रयास रहनेछ।”