‘मेस्सीले छाडे भने बार्सिलोनाले नाम फेरे हुन्छ’

एजेन्सी – च्याम्पियन्स लिगमा लज्जास्पद हार पश्चात अहिले लियोनेल मेस्सीले बार्सिलोना छाड्ने चर्चा शुरु भएको छ। मेस्सी क्लबको व्यवस्थापन र अन्य विभिन्न पक्षलाई लिएर रुष्ट रहेको र क्लबको गिर्दो शाख पश्चात क्लब छाड्ने मनस्थितमा पुगेको बताइन्छ। अहिले मेस्सीका लागि कुन क्लब उपयुक्त हुन्छ भन्ने बारे पनि चर्चा भइरहेको छ।

मेस्सी बार्सिलोनामा रहने-नरहने बारे चर्चा भइरहेका बेला पूर्व बार्सिलोना र क्यामरून स्ट्राइकर साम्युएल इटोले मेस्सीले क्लब छाडेको खण्डमा क्लबकै नाम परिवर्तन गर्नुपर्ने बताएका छन्। मेस्सीले बार्सिलोना छाड्न लागेको भन्ने विषयमा अर्जेन्टिनाको एक टेलिभिजनसँग कुराकानी गर्नेक्रममा इटोले ठट्टा गर्दै यस्तो बताएका हुन्।

“म मेस्सीलाई आफ्नो छोरा जत्तिकै प्रेम गर्छु। म उनको धेरै भन्दा धेरै राम्रो होस् भन्ने चाहन्छु। मेरो लागि मेस्सी नै बार्सिलोना हुन्। मलाई लाग्छ कि मेस्सीले छोड्ने निर्णय गरेमा क्लबको नाम परिवर्तन गर्नुपर्नेछ।”,उनले भने।

विश्वकै उत्कृष्ट खेलाडी हुनु बार्सिलोनाको लागि ठूलो भाग्यको कुरा रहेको उनको भनाई छ। मेस्सी इतिहाँसकै उत्कृष्ट खेलाडी मध्ये एक रहेका कारण मेस्सीलाई क्लबमा टिकाउन सक्दो प्रयास गर्नुपर्ने उनी बताउँछन्।

बार्सिलोना अहिले कठिन समयबाट गुज्रिरहेको इटो मान्छन्। नयाँ खेलाडीहरु क्लबमा संघर्षरत रहेका कारण पनि बार्सिलोनालाई अफ्ठेरो परेको उनको बुझाई छ। क्लबले धेरै नै परिवर्तन गर्नुपर्ने समय आइसकेको पनि उनले बताएका छन्।

प्रकाशित : बिहिबार, भदौ ०४, २०७७१६:१०

मेस्सीले कोम्यानलाई भने – ‘मैले बार्सिलोनामा मेरो भविष्य देखेको छैन’