निषेधाज्ञामा कडाइ : उपत्यकाका सडकमा ५ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ५ हजार सुरक्षाकर्मी खटाइएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता सुशीलकुमार यादवले नियमित ड्युटीबाहेक उपत्यकाका सडकमा नेपाल प्रहरी तर्फबाट मात्रै ३ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । यसैगरी, सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार तीनै जिल्लामा गरी सशस्त्र प्रहरीका १ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता यदवका अनुसार बिहीबार काठमाडौंका सडकमा निषेधाज्ञा उल्लंघन गर्दै हिँडेका ५ सय ८१ जनालाई होल्ड गराइएको छ । यसैगरी, ललितपुरमा १ हजार २ सय १० जनालाई होल्ड गराइएको छ भने भक्तपुरमा ५ सय ३५ जनालाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै सडकमा होल्ड गराइएको छ । यसरी होल्ड गराइएका सबैलाई साँझसम्म सचेत गराएर छाडिएको यादवले जानकारी दिए ।

२९ सय सवारी साधन होल्ड
ट्राफिक प्रहरीले निषेधाज्ञा उल्लंघन गर्दै चलाइएका २ हजार ९ सय २ सवारी साधनलाई बिहीबार सडकमै होल्ड गराएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी बामदेव गौतमका अनुसार बिहीबार उपत्यकाका तीनै जिल्लाबाट गरी २ हजार २ सय ९४ वटा दुईपांग्रे तथा ६ सय ८ वटा चारपांग्रे गरी २ हजार ९ सय २ सवारी साधनलाई होल्ड गराइएको र साँझ छाडिएको हो ।

बिहीबार होल्डमा पर्नेमा सरकारी कर्मचारी र बैंकका कर्मचारीसमेत थिए । उनीहरूलाई शुक्रबारबाट भने कार्यरत कार्यालयद्वारा जारी गरिएका परिचयपत्रका आधारमा सवारी चलाउन दिइनेछ ।

उपत्यकाका तीनै वटा जिल्लका सडकमा ट्राफिक प्रहरी तर्फबाट मात्रै ११ सय जनशक्ति खटाइएको छ । जसमध्ये काठमाडौंका सडकमा मात्रै ८ सय ट्राफिक प्रहरी खटिएका छन् भने बाँकी जनशक्ति ललितपुर र भक्तपुरमा परिचालन गरिएको छ ।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७०१:५८

जसपामा मर्यादाक्रममा चर्काे विवाद: अध्यक्ष र मर्यादाक्रममा पहिलो हुनुपर्ने बाबुरामको अडान !