नेकपामा नयाँ विवाद !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा सरकारी नियुक्तिको विषयलाई लिएर विवाद सिर्जना भएको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा नियुक्ति गरिरहेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका हुन् ।

संवैधानिक निकायको नियुक्तिमा भागबण्डा नमिलिरहेका बेला अब सरकारी नियुक्तिको विषय पनि आएको हो । मंगलबार र बिहिवार प्रधानमन्त्री ओलीसँग भेट गरेका दाहालले सरकारी नियुक्ति आपसी छलफलपछि मात्रै हुनुपर्ने बताएका छन् ।

उनले पार्टीभित्र देखिएको समस्या समाधानका लागि कार्यदल गठन भए पछाडीका सबै नियुक्ति बदर हुनुपर्ने माग राखेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

विहिवारको भेटमा पनि दाहालले नियुक्तिहरु सच्याउन भनेको उनि निकट स्रोतले जानकारी दिएको छ । तर, प्रधानमन्त्री ओलीले कार्यदल गठन अगावै नियुक्तिको प्रक्रियामा रहेकोले नियुक्ति गरिएको जवाफ दिएका छन् । उनले अब हुने नियुक्तिमा भने छलफलबाट अगाडी बढ्न सकिने बताएको स्रोतले जानकारी दिएको छ । अध्यक्ष दाहालले भने नियुक्ति बदर नभए कार्यदलको काम प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।

पछिल्लो समय दाहाल–वरिष्ठ नेता माधवकुमार नेपाल आफु निकट नेता र कार्यकर्ताको चेपुवामा परेकाले विवाद बढेको ओली निकट नेताहरुको विश्लेषण रहेको छ । सरकारी नियुक्तिमा ओलीले एकलौटी गरेपछि दाहाल–नेपाल निकटकाहरु बाहिरिएकाले उनिहरुको व्यवस्थापन गर्न चुनौति परेको छ ।

ओलीले संवैधानिक आयोग बाहेकका अधिकाशं स्थानमा राजनीतिक नियुक्ति गरिरहेका छन् । जसका कारण आफु निकट नेता कार्यकर्ता नपर्ने भएपछि दाहालले नियुक्ति खारेज हुनुपर्ने माग राखेको ओली निकट नेताहरुको भनाई छ । तर, दाहाल–नेपालले ओलीको पक्षमा खुलेर समर्थन गर्ने आफुहरुलाई गालीगलौज गर्नेलाई सरकारी नियुक्ति दिईरहेको भन्दै रोष प्रकट गर्दै आएका छन् ।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७०२:१०

काठमाडौंमा कन्ट्याक्ट ट्रेसिङमा समस्या, संक्रमित समुदायमै घुलमिल हुँदा जोखिम !