काठमाडौंमा कन्ट्याक्ट ट्रेसिङमा समस्या, संक्रमित समुदायमै घुलमिल हुँदा जोखिम !

काठमाडौं । उपत्यकामा विहिवारसम्म कोभिड–१९ (कोरोना भाइरस)का २ हजार ४२४ जना सक्रिय संक्रमित रहेका छन् । सरकारी तथ्यांकअनुसार विहिवार उपत्यकामा २०० नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिए । संक्रमित भेटिने वित्तिकै उनिहरुलाई आइसोलेशनमा राख्नुपर्ने हुन्छ । पछिल्लो पटक स्वास्थ्य मन्त्रालयले मापदण्ड बनाएर घरमै पनि बस्ने सक्ने व्यवस्था गरेको छ । धेरै जना होम आइसोलेसनमा बसेका पनि छन् । तर, ठूलो परिवार भएका र डेरा लिएर बस्ने संक्रमितहरुलाई घरमा बस्न असहज हुने भएकाले आइसोलेसनको व्यवस्था मिलाउन गाह्रो भएको वडाध्यक्षहरु बताउँछन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

राजधानीका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्नै मुस्किल पर्न थालेको छ । जसका कारण समुदायमा कोरोना संक्रमण फैलिने सम्भावना बलियो बनेको छ । शुक्रबार स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा १७४ जना संक्रमितको नाम आयो ।
संक्रमितको नाम, टेलिफोन नम्बर र ठेगाना भने ‘बागमती काठमाडौं’ मात्र उल्लेख छ । प्रयोगशालाले कन्ट्याक्ट टे«सिङका लागि महाशाखामा नाम पठाउछ । ठेगाना नहुँदा निक्कै समस्या भएको महाशाखाका अधिकारीहरुले गुनासो गरेका छन् ।

अधिकारीहरु प्रयोगशालाबाट संक्रमितको ठेगाना, सम्पर्क नम्बर सहितको सुचना नआउँदा पूर्ण विवरण राख्न समस्या परेको बताउँछन् ।
महाशाखाका तथ्यांक शाखा प्रमुख कृष्णराज पाण्डेले संक्रमित भइसकेका व्यक्ति बारे कोरोना परीक्षण गरेको प्रयोगशालाबाट पूर्ण विवरण नआउँदा कट्याक्ट ट्रेसिङमा ढिलाई हुने गरेको बताए । प्रयोगशालाले कोरोना संक्रमित बारे सुचना पठाएपछि उनीहरुको पूर्ण ठेगाना पत्ता लगाउन महाशाखाका अधिकारीहरुले प्रत्येक संक्रमितलाई फोन गर्दै ठेगाना सोध्छन् । ‘कतिपय संक्रमितको त प्रयोगशालाले फोन नम्बर बिनाको विवरण पठाउँछ, यस्तो अवस्थामा संक्रमित नै सम्पर्कविहीन हुने अवस्था आउँछ’, पाण्डे भन्छन्, ‘संक्रमितको पूर्ण विवरण भएन भने कट्याक्ट ट्रेसिङको काम गर्न समस्या पर्छ ।’

कट्याक्ट ट्रेसिङ कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेका शंकास्पद व्यक्ति पहिचान गर्ने काम हो । महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइराला कोरोना संक्रमितको पूर्ण विवरण नआउँदा राति अवेरसम्म फोन गर्दै ठेगाना सोध्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘कोरोना जाँच्ने क्रममा आफ्नो ठेगानाको पूर्ण विवरण र सम्पर्क नम्बर अनिवार्य राख्न र प्रयोगशालाले पनि पूर्ण विवरण पठाउन हाम्रो अनुरोध छ’, उनको भनाई छ ।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७०२:१६

मन्त्री, सचिव र उच्चपदस्थलाई पछ्याउँदै कोरोना !