एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानलाई लियोनेल मेस्सीले क्याम्प नोउमै बस्ने भन्दा पनि आफूले छोड्ने बढी सम्भावना रहेको बताएका छन्।
एक क्याटलान रेडियोले दावी गरेअनुसार मेस्सीले रोनाल्ड कोम्यानसँगको भेटका क्रममा मेस्सीले बार्सिलोनामा आफ्नो भविष्य अनिश्चित रहेको बताएका हुन्।
नवनियुक्त प्रशिक्षकसँगको भेटका क्रममा दुई बीच क्लबलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने बारे छलफल भएको र त्यसक्रममा मेस्सीले आफूलाई भविष्यमा क्लब भित्र भन्दा पनि बाहिर देखिरहेको स्पष्ट पारेको बताइएको छ। साथै मेस्सीले बार्सिलोना छाडेपछि आइपर्ने समस्या बारे आफू विज्ञ रहेको र त्यसलाई सामना गर्न तयार रहेको संकेत गरेका छन्।
खराब प्रदर्शनसँगै बार्सिलोनाले गत जनवरीमा एर्नेस्टो भाल्भेर्डेको स्थानमा मुख्य प्रशिक्षक बनेका सेटिनलाई ७ महिनामै गत सोमबार बर्खास्त गरेको थियो। जसपश्चात बार्सिलोनाले डच टोलीको मुख्य प्रशिक्षक समेत रहेका ५७ वर्षीय कोम्यानसँग दुई वर्षको सम्झौता गरिएको थियो। बार्सिलोनालाई लयमा फर्काउने योजना सहित क्याम्प नोउ आइपुगेका कोम्यानले मेस्सी क्लबमै रहेको अवस्थामा आफू धेरै खुशी हुने बताएका छन्।
पछिल्लो समय बार्सिलोना छाड्ने मनस्थितमा पुगेका मेस्सी मानसिक रुपमै बहिर्गमनको लागि उच्च मनोबलका साथ तयार रहेको बुझिएको छ। उनले आफ्ना भावी योजना बारे गम्भीरता पूर्वक सोचिरहेको समेत बताइन्छ।