“मेस्सी-रोनाल्डो पछि एम्बाप्पेले ब्यालोन डी’ ओरमा राज गर्नेछन्”

पूर्व फ्रेन्च राष्ट्रिय खेलाडी लुइस साहाले अहिलेको समयमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि किलियन एम्बप्पे भन्दा उत्कृष्ट खेलाडी कोहि पनि नरहेको बताएका छन्। उनले भविष्यमा एम्बाप्पेले ब्यालोन डी’ ओर जित्ने पनि दाबी गरे। एम्बाप्पे अहिलेको समयमा रोनाल्डो र मेस्सीसँगै विश्वका टप ३ खेलाडीमा पर्ने साहाले बताए।

साहाले फुटबल इन्डेक्स पोडकास्टमा कुरा गर्दै भने,”उनले ब्यालोन डी’ ओर जित्ने पक्का छ, यो मात्र समय को कुरा हो कि उनी औपचारिक रूपमा विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडी घोषित हुने।” उनी भखरै मात्र चोटबाट फर्केका छन् र च्याम्पियन्स लिगको अन्तिम चरणका खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यति सानो उमेरमा यी सबै कुरा गर्नु, म शब्द बिहिन छु, साहाले भने।

साहाका अनुसार मेस्सी र रोनाल्डोपछि  विश्व फुटबल जगतमा एम्बाप्पेको राज चल्नेछ। उनले भने,” एम्बप्पे र मेस्सी-रोनाल्डोमा भने अझै धेरै फरक छ किनकि उनीहरुले फुटबल जगतमा लगातार १० वर्ष राज गरेका छन्। तर उनीहरुपछि एम्बाप्पे नै मेस्सी-रोनाल्डोको उत्तराधिकारी हुनेछन् र विश्व फुटबलमा राज गर्नेछन्।”

२१ वर्षको उमेरमा नै एम्बाप्पेले आफ्नो करियरमा जुन सफलता हासिल गरेका छन् त्यो साँच्चै नै उत्कृष्ट छ। उनले यस सिजन पिएसजीको लागि ३६ खेल खेल्दै ३० गोल गर्नुको साथै र १९ असिस्ट पनि दिएका छन्। च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रामा पनि एम्बाप्पेले क्लबका लागि महत्वपूर्ण भूमिका खेलेका छन्।

उनले पछिल्ला ४ सिजनमा २० भन्दा बढी गोल गरेका छन् भने पछिल्ला २ सिजनमा कम्तिमा ३० गोल गर्न सफल भएका छन्। फ्रान्समा सम्भव हरेक उपाधि जितिसकेका एम्बाप्पेले फ्रान्सको राष्ट्रिय टोलीबाट २०१८ को विश्वकप पनि जितिसकेका छन्। अब उनको नजरमा च्याम्पियन्स लिगको उपाधि रहेको छ। एम्बाप्पे र पिएसजीले च्याम्पियन्स लिगको उपाधिको लागि अगस्ट २३ मा बार्यन म्युनिखसँग भिड्ने छन्।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७१३:०३

“मेस्सी म्यानचेस्टर जाने कुरा जटिल छ, तर असम्भव छैन”