भरिन थाले अस्पतालका आइसियु, भेन्टिलेटरमा दुई दिनमै दोब्बर बिरामी !

काठमाडौँ – नेपालमा गम्भीर लक्षण सहितका कोरोना भाइरस संक्रमित बढ्न थालेका छन्। पछिल्ला केहि हप्ता देखि नेपालमा विभिन्न क्षेत्रहरुमा श्वास-प्रश्वासमा समस्या सहित उच्च ज्वरो र अन्य विभिन्न लक्षण सहितका संक्रमित फेला पर्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गम्भीर लक्षण सहितका संक्रमित फेला पर्न थालेसँगै नेपालमा आइसियु र भेन्टिलेटर भरिन थालेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालभरका संक्रमित मध्ये १ सय ३३ जना कोरोना संक्रमित आइसियुमा रहेका छन्।

कर्णाली र सुदूरपश्‍चिमबाहेकका अन्य सबै प्रदेशमा संक्रमितहरुलाई आइसियुमा राखिएको छ। पछिल्लो तथ्यांकका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशका संक्रमित आइसियुमा छन्। यस्तै प्रदेश २ का ४६ जना, प्रदेश १ का १६ जना, प्रदेश ५ का १३ जना र गण्डकी प्रदेशका ६ जना संक्रमित आइसियुमा रहेका छन्।

यस्तै बागमती प्रदेशका १५ संक्रमित अहिले भेन्टिलेटरमा छन्। दुई दिन अगाडी बागमती प्रदेशका विभिन्‍न अस्पतालमा ७ जना मात्रै कोरोना संक्रमित भेन्टिलेटर थिए। तर, अहिले उक्त संख्या दोब्बर भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई दिनयता आइसियु र भेन्टिलेटरको सहारा लिनुपर्ने कोरोना संक्रमितको संख्या करिब दोब्बर भएको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले दुई दिनयता आइसियुमा उपचाररत बिरामीको संख्या बढेको बताए।

“दुई दिनयता आइसियुमा उपचाररत बिरामीको संख्या बढेको छ। भेन्टिलेटरमा पुग्‍ने बिरामीको संख्या पनि बढ्दैछ। धेरैमा गम्भीर प्रकृतिको श्‍वासप्रश्‍वासको समस्या देखिँदैछ।”,उनले भने।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७१२:२४

आइसोलेशन तोडफोड र चोरी, रु १५ लाखका क्षति !