उड्न नपाएका श्रमिक भन्छन् – ‘सरकार अविवेकी भएपछि पाउन सम्म दुःख पाइने रहेछ’

अर्कोपटक वैदेशिक रोजगारीमा नजाने निर्णय गरेपछि दधिकोट, भक्तपुरका पुण्य बस्नेतले दुबईमा बस्दै आएको कोठा छोडिसकेका थिए। एक महिनाअघि एक हजार तीन सय २० दिराम (४३ हजार पाँच सय ६० रूपैयाँ) मा टिकट किनेको आरए २२९२ कलसाइनको जहाज बस्नेतसहितका यात्रुलाई लिन संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाँदै थियो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

‘कन्फर्म’ टिकट भएकाले उनी जहाज उड्नुभन्दा चार घण्टाअघि नै दुबई विमानस्थल पुगिसकेका थिए। करिब दुई वर्षपछि घर फर्कन थालेका उनी जहाज उड्ने समयको व्यग्र प्रतीक्षामा थिए। भदौ १ गते बिहान ३ः५५ बजे (नेपाली समय) कुर्न उनलाई हम्मेहम्मे परिरहेको थियो। तर त्यसको केही बेरअघि नेपाल एअरलाइन्सका कर्मचारी जहाजले यात्रु बोक्न नसक्ने खबर सुनाउँदै यात्रुछेउ पुगे।

‘जब हामीले त्यस्तो खबर सुन्यौं, सबै यात्रु अचम्ममा पर्यौं,’ उनले नागरिकसँग भने, ‘अन्तिम समयमा आएर जहाजले यात्रु नबोक्ने खबर नेपाली यात्रुका लागि मात्र नभई दुबई विमानस्थलका सरकारी अधिकारी र अन्य यात्रुका लागि पनि अनौठो थियो।’ उडान तालिकाको करिब एक घण्टाअघि मात्र जहाजले यात्रु नबोक्ने खबर सुनाएपछि युएईसहित देशविदेशमा रहेका नेपालीबीच हल्लीखल्ली मच्चिएको उनको भनाइ छ। एअरलाइन्सका कर्मचारीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सिसिएमसीले दुबईबाट जहाज रित्तो फिर्ता ल्याउन निर्देशन दिएको खबर सुनाएको अर्का यात्रु रमेश सिग्देलले बताए।

‘दुईतीन महिनाअघिदेखि नै टिकट खरिद गरिएको जहाज प्राविधिक समस्याबिनै रित्तो फर्काउन खोजिएपछि युएईको नेपाली राजदूतावासदेखि काठमाडौंसम्म उडानका लागि आग्रह ग-यौ,’ उनले भने, ‘समस्याको बारेमा रित्तो जहाज फर्काउने निर्देशन दिने व्यक्तिसम्म जानकारी हुँदा पनि केही चलेन। सरकार अविवेकी हुँदा नागरिकले अनाहकमा दुःख पाउँदा रहेछन् भन्ने पुष्टि भयो।’ रोजगारीका लागि युएई पुगेका श्रमिक सिसिमएसीले क्वारेन्टाइनको व्यवस्था हुन नसकेको भन्दै दुबईबाट रित्तो जहाज फर्काएपछि अन्योलमा छन्। दुई–तीन महिनाअघिदेखि नै हवाई टिकट खरिद गरिसकेका ती यात्रु पुनः कहिले फर्कन पाउने भन्ने अन्योलमा छन्।

घर फर्कन थालेका अधिकांश कोरोना महामारीपछि रोजगारी गुमाएका हुन्। ‘घर फर्कनेमध्ये धेरैजसो दुई महिनाअघिदेखि रोजगारी गुमाएका थिए,’ स्याङ्जाका हरि पाठकले भने, ‘कतिपयले त चारपाँच महिनाअघि नै रोजगारी गुमाइसकेका थिए।’

नेपाल एअरलाइन्सको जहाज रित्तै फर्केपछि यतिखेर अधिकांश यात्रु बिचल्ली अवस्थामा बसेका छन्। कतिपय होटलमा, कतिपय साथीभाइसँग त कतिपयले दूतावासको आश्रय लिइरहेका छन्। युएईस्थित नेपाली राजदूतासवासकी श्रम काउन्सुलर निर्मला थापाले सबैतिर हारगुहार गरेर समस्यामा परेकालाई जसोतसो व्यवस्थापन गरिएको बताइन्।

‘जहाज रित्तो फर्कने खबर सुनेपछि हामीले अन्तिम समयसम्म कुनै पनि हालतमा यात्रुलाई रोक्नुहुन्न भनेर आग्रह गरेका थियौं,’ उनले भनिन्, ‘तर दुःखको कुरा, केही उपलब्धि हुन सकेन।’ फर्कन नपाएका अधिकांश यात्रुको बिचल्ली भएको उनले बताइन्। घर फर्कन कतिपय यात्रु तीनचार घन्टा टाढादेखि ट्याक्सीमा विमानस्थल पुगेका थिए। दुई सय ६६ यात्रुलाई लिन नेपाल एअरलाइन्सको जहाज दुबई गएको थियो।

प्रकाशित : शनिबार, भदौ ०६, २०७७०१:५४

सबै सवारी चालक अनुमति पत्र छापिए, अब परिस्थित सहज भएलगतै लिन सकिने !