यति बेला धनुषाको नगराइन नगरपालिका–३ फुलगामाका ७० वर्षीय रामचन्द्र साह रुँदैछन्। बुढेसकालको सहारा जवान छोरा गुमाउनुको पीडाले वृद्धा सोनावत्ती अर्धमूर्छित छिन्। पति गुमाएको पीडाले गीतादेवी छटपटाइरहेकी छिन्। दुई छोरा र एक छोरी ‘मेरो पापालाई ल्याइदेऊ’ भन्दै चिच्याइरहेका छन्। अस्पतालले भर्ना नलिँदा फुलगामाका श्याम साहले ज्यान गुमाउनुप-यो। प्रादेशिक अस्पतालले भर्ना नलिएपछि एम्बुलेन्समा काठमाडौं लैजाँदै गर्दा बाटोमै श्यामको जीवन गुमेपछि यो परिवारको खुसीको यात्रा यहीं रोकिएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
श्यामले बिबिए पढ्दै गरेकी छोरीको धुमधामसँग विवाह गर्ने सपना सजाएका थिए। छोरीको पढाइ सकिएपछि राम्रो बेहुला खोजेर धुमधामसँग बिहे गर्ने सोच उनले पत्नी गीतासँग साझा गरेका थिए। ‘आब कोना होतै सपना पूरा हो राजा’ भन्दै गीता चिच्याइरहेकी छन्। पाँचजनाको परिवारलाई सहारा दिने श्याम एक्ला थिए। उनको गाउँमै स्कुल तथा मनी ट्रान्सफरको व्यवसाय छ।
श्यामको मृत्युको खबर पाएदेखि पत्नी गीता मूर्छित छिन्। आफन्तले खुवाएको पानीको सहारामा उनको प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन्। बेलाबेला होस खुल्नेबित्तिकै उनी ‘हमर सुगाके लाइबदू’ भन्दै चिच्याउँछिन्, एक छिनपछि मूर्छा परिहाल्छिन्।
बुधबार श्वासप्रश्वासमा समस्या भएपछि भान्जा विजयले श्यामलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याएका थिए। बिहान करिब ८ बजे अस्पताल पुगेका श्यामलाई आकस्मिक कक्षमा राखियो। तर डाक्टर हेर्नसमेत आएनन्। स्वास्थ्यकर्मीले टाढैबाट पिसिआर परीक्षण गराएर आउन सल्लाह दिए। ‘दुई घण्टा आकस्मिक कक्षमा बसेपछि बल्ल पिसिआर परीक्षण गराउन खबर आयो’, विजयले भने। उपचार सुरु गर्न पिसिआर परीक्षणको अनिवार्यताले ढिलाइ भइरहेकै थियो। स्ट्रेचरमा राखेर पिसिआरका लागि पु¥याउँदा समय घर्किंदै गइरहेको थियो। ‘उपचारबिनाको पर्खाइ र परीक्षणका लागि दौडाहाले मामालाई सास फेर्न सकस भइरहेको थियो’, उनले भने, ‘जति प्रयत्न गर्दा पनि डाक्टर उपचारका लागि तयार भएनन्।’
क्षमताले भ्याएसम्मको ताकत लगाउँदा पनि उपचारका लागि चाहिने आइसियू कक्ष उपलब्ध हुन नसकेको विजयले बताए। ‘कतैबाट आशलाग्दो जवाफ पाएनौं। समय घर्किदै गएसँगै मामालाई सास फेर्न गाह्रो हुँदै गएको थियो’, उनले भने, ‘सबैतिरबाट निराश जवाफले लाचार बन्नुबाहेक मसँग विकल्प थिएन।’ हेलिकोप्टरबाट काठमाडौं लैजाने विकल्पमा प्रयास गर्दा समेत सफल नभएको उनले बताए। ‘सुरुमा हुन्छ भने तर पछि पिसिआर रिपोर्ट चाहिन्छ भन्दै इन्कार गरे। हवाईजहाज चार्टर गर्न पनि तयार भयौं तर पिसिआर रिपोर्ट चाहिन्छ भन्दै त्यो पनि सम्भव भएन’, उनले भने।
पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमण बढेसँगै ज्वरो, खोकी र श्वासप्रश्वास, झाडापाखालाका बिरामीले अस्पतालमा भर्ना पाउँदैनन्। भर्ना पाए पनि उपचार पाउँदैनन्। उपचारका लागि आउने बिरामीलाई जाँच नै नगरी फिर्ता पठाउने क्रम बढेको छ।
त्यसपछि एम्बुलेन्सबाट काठमाडौं लैजाने सोच बनाएको उनले बताए। त्यो पनि सहज भएन। बिरामीलाई सास फेर्न गाह्रो छ भन्नेबित्तिकै एम्बुलेन्सवालाहरू समेत फोन काटिदिन्थे। अन्तमा एउटा एम्बुलेन्स तयार भयो। त्यतिन्जेल घाम अस्ताइसकेको थियो। आफैं स्वास्थ्यकर्मीसमेत रहेका विजय मामालाई एम्बुलेन्समा राखेर काठमाडौं हुइँकिए। सिन्धुलीगढीको उकालो चढ्दै गर्दा श्यामको सास ओरालो झर्दै गयो। उकालो उक्लिएसँगै उनको सास बन्द भयो। घटना सम्झिँदै विजय भक्कानिए, ‘प्रादेशिक अस्पतालले भर्ना लिएको भए उहाँको प्राण जोगिन्थ्यो। १० घण्टा बिनाउपचार झुलाइदिएकै कारण मामालाई बचाउन सकिएन।’
उता वीरगन्जमा पनि उपचार नपाएर वीरगन्ज ११ श्रीपुरका चलित्तर महतोले ज्यान गुमाए। घटना हो साउन २२ को। सोही दिन जिल्ला प्रशासन कार्यालय पर्साले सबै निजी अस्पताललाई पत्राचार गर्दै बिरामीलाई उपचार नगरी फिर्ता नपठाउन निर्देशन दिएको थियो। ६४ वर्षीय महतो नेसनल मेडिकल कलेजमा दोस्रो पटक पुगेको दिन थियो त्यो। १० दिनअगाडि उनी भर्ना हुन जाँदा पिसिआर जाँच गराएर मात्र आउनू भनी अस्पतालले फर्काएको थियो। नारायणी अस्पतालको पिसिआर परीक्षण प्रयोगशालाको जाँचको रिपोर्ट यसपटक उनी हातमा लिएरै त्यहाँ पुगेका थिए। जसमा उनलाई कोरोना संक्रमण नरहेको पुष्टि गरिएको थियो। ‘हामी यसपालि त फिर्ता पठाउँदैनन् भनी नेसनल मेडिकल कलेज पुगेका थियौं। दाजुलाई बिसन्चो थियो तर त्यहाँ डाक्टरहरूले भर्ना लिन नमानेर उहाँको कलेजकै गेटमा ज्यान गयो’, मृतकका भाइ शम्भु महतोले भने, ‘हामी निरीह थियौं, आँखाअगाडि नै मेरो दाजुको अवस्था खराब हुँदै गएको थियो। उहाँलाई बचाउन सकेनौं।’