एजेन्सी – पछिल्लो दुई वर्ष प्रशिक्षक जुलेन लोपेटेगुईले थुप्रै आरोह र अवरोहको सामना गरे । यो दुई वर्षको अवधिमा प्रशिक्षक लोपेटेगुई दुईपटक अपमानजनक बर्खास्तीदेखि च्याम्पियन सम्मको यात्रा तय गरे ।
स्पेनको राष्ट्रिय टोलीबाट बर्खास्तमा परेको लोपेटगुई त्यसपछि रियल म्याड्रिडबाट पनि बर्खास्तीमा परेका थिए । स्पेनले विश्वकप अघि नै रियल म्याड्रिडको प्रशिक्षक पद स्वीकार गरेकै कारण उनलाई विश्वकप सुरु हुनुभन्दा २ दिन अघिमात्र पदबाट निष्कासन गरेको थियो । तिनै ५३ वर्षीय प्रशिक्षक लोपेटेगुईले स्पेनिस क्लब सेभिल्लालाई युरोपा लिगको कीर्तिमानी छैटौपटक च्याम्पियन बनाएका छन् ।
क्लबको प्रशिक्षण करियरमा यो नै उनको ठुलो सफलता हो । यसअघि उनले स्पेनको यु–१९ र यु–२१ टोलीलाई युरोपियन च्याम्पियनसिपको च्याम्पियन बनाएका थिए ।
यो दुई वर्षको अवधिमा सेभिल्लालाई च्याम्पियन बनाएर उनले आफुलाई प्रमाणित गरेका छन् । सेभिल्लाले शुक्रबार राति इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानलाई ३–२ ले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको थियो । सेभिल्लालाई च्याम्पियन बनाएपछि उनी निकै भावुक अवस्थामा देखिएका थिए ।
च्याम्पियन बनेपछि लोपेटगुईले ट्रफी सेभिल्लाका समर्थक र कोरोना महामारीबाट ज्यान गुमाएका समर्थकलाई समर्पित गरे । ‘यो ट्रफी सेभिल्लाका समर्थकसँगै कोरोना महामारीबाट ज्यान गुमाएका तथा सेभिल्लाका स्टार जोस एन्टेनियो रेयस र एन्टोनियो पुर्याटालाई पनि समर्पित गर्न चाहन्छु,’ लोपेटगुईले भने, ‘मेरा खेलाडी साह्रै महान् छन् । उनीहरुले कडा मिहिनेत गरेका छन् । समर्थकहरुको आशा र चाहना पूरा गर्न सक्यौं ।’
स्पेनका पूर्व गोलरक्षक रहेका लोपेटेगुईले पोर्चुगिज क्लब पोर्टो छाड्दै २१ जुलाई २०१६ मा स्पेनिस राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा स्पेनले २० खेल खेल्दा १४ जित र ६ बराबरीको नतिजा निकाल्दै अपराजित रहेको थियो ।
तर, स्पेनको प्रशिक्षक रहँदा रहँदै स्पेनिस महारथी रियल म्याड्रिडको प्रशिक्षक बनेपछि रोयल स्पेनिस फुटबल फेडेरेसनले उनलाई १३ जुन २०१८ मा बर्खास्त गरेको थियो । त्यतिबेला रसियामा विश्वकप चलिरहेको थियो । स्पेनको खेलमा उनले प्रशिक्षण दिन पाएनन् । उनको बर्खास्तीपछि स्पेनले विश्वकपमा निकै कमजोर प्रदर्शन गरेको थियो ।
१ जुलाई २०१८ बाट रियलको प्रशिक्षण भार सम्हालेका लोपेटेगुई रिलयमा ४ महिना पनि टिक्न सकेनन् । लगातार खराब नतिजापछि रियलले लोपेटगुईलाई २९ अक्टोबर २०१८ मा बर्खास्त गर्यो । लोपेटेगुईको प्रशिक्षणमा रियलले १४ खेल खेल्दा ६ जित र २ बराबरीको नतिजा निकाल्दा ६ खेलमा हार बेहोरेको थियो ।
मुख्यत लोपेटेगुईले युइएफए सुपर कपमा शहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग अतिरिक्त समयमा ४–२ को हार र एल क्लासिकोमा बार्सिलोनासँग ५–१ को लज्जास्पद हार बेहोरेका थिए । बार्सिलोनाको हारसँगै लोपेटेगुई बर्खास्तीमा परेका थिए ।
५ जुन २०१९ मा सेभिल्लाका प्रशिक्षक बनेका लोपेटेगुईले यसक्रममा सेभिल्लालाई युरोपा लिगको च्याम्पियन बनाउँदा स्पेनिस ला लिगामा पनि बलियो टोलीको रुपमा उभ्याउन सफल भए । सेभिल्ला स्पेनिस ला लिगामा चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगको लागि छनोट भइसकेको छ ।
लोपेटेगुईको प्रशिक्षणमा सेभिल्लाले ५४ खेल खेल्दा ३१ जित, १५ बराबरी र ८ खेलमा हारको नतिजा निकालेको छ ।