काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले विदेशमा पसिना बगाएर देशको अर्थतन्त्र धान्ने नागरिक माथि अन्याय नगर्न सरकारलाई चेतवानी दिएका छन्।
सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेसँगै भट्टराईको यस्तो अभिव्यक्ति आएको हो।
विदेशमा पसिना बेचेर देशको अर्थतन्त्र धान्ने मात्र नभई लालाबालालाई खाना/नाना/छानाको सपना बुनेका श्रमिकहरूलाई चर्को भाडा,परीक्षण शुल्क र होटेल क्वारेन्टिनको नाममा लुट्ने कार्य सर्वहाराको पार्टीले गर्न मिल्छ भन्ने भट्टराईको प्रश्न छ।
भट्टराईले वर्तमान सरकार सर्वहारा हो कि सर्व-आहाराको हो भनेर प्रश्न पनि गरेका छन्। यसरी विदेशबाट फर्किने नागरिकलाई लुट्न बन्द गरेर प्रदेशस्थानीय तहसँग मिलेर समस्याको समाधान गर्न भट्टराईको सुझाव छ।
“विदेशमा पसिना बेचेर देशको अर्थतन्त्र धान्दै आएका र लालाबालालाई खाना/नाना/छानाको सपना बुनेका श्रमिकहरूलाई उल्टै चर्को भाडा,परीक्षण शुल्क र होटेल क्वारेन्टिनमा लुट्नु कति अमानवीय हर्कत हो?यही हो सर्वहारा(कि सर्व-आहारा?)को पार्टी/सरकारले गर्ने?संघ/प्रदेश/स्थानीयको संयोजनमा तु.हल गर!”,ट्वीटरमा भट्टराईले लेखेका छन्।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका होटलमा तीन हजार ५०० शय्या क्षमता रहेको छन् ।
सार्वजनिक मूल्यका अनुसार पाँच तारे होटलमा एकल रु नौ हजार र दुई जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति रु छ हजार तोकिएको छ । यस्तै चारतारे होटलमा एकल रु आठ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति रु पाँच हजार ५००, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको रु छ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति रु पाँच हजार, दुई तारेमा एकल रु पाँच हजार र दुई जना भएमा प्रतिव्यक्ति रु तीन हजार ५००, एकतारेमा एकल रु चार हजार र दुई जना भएमा प्रतिव्यक्ति रु दुई हजार ५०० तथा पर्यटकस्तरको होटलमा एकल रु दुई हजार ८०० र दुई जना भएमा प्रतिव्यक्ति रु एक हजार ८०० शुल्क तोकिएको छ ।
पर्यटकस्तरको होटलका लागि दिनको चार पटक दिइने खानाको मेनु पनि तोकिएको छ । पर्यटकस्तरको होटलले क्वारेन्टिनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ । तारे होटलले खुवाउने खाना आफ्नै ढङ्गको हुनेछ । विभागले तोकेको क्वारेन्टिमा प्रयोग गरिने पर्यटकस्तरका होटलको मूल्य र खानाको मेनु महँगो भएको भन्दै विरोध भइरहेको छ।