‘म त्यतिकै पीएसजी आएको होइन, इतिहास रच्न आएको हुँ’

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड किलीयन एमबाप्पेले आफू इतिहास रच्नकै लागि क्लबमा आएको बताएका छन् ।

यूईएफए च्याम्पियन्स लिग फाइनलको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनमा बोल्दै एमबाप्पेले आफ्नो धारणा प्रस्तुत गरेका हुन् । सन् २०१७ मा मोनाकोबाट मोटो रकममा पीएसजी आएका एमबाप्पेले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । यस सिजन चोटका कारण विश्राममा रहेका एमबाप्पे क्वाटरफाइनलमा एटलान्टाविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

२१ वर्षीय एमबाप्पे फाइनलमा बायर्न म्युनिखलाई पराजित गर्दै क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग उपाधि दिलाउन चाहन्छन् । ‘ म यो क्लबमा आउनुको कारण नै यहि हो । म सधैं भन्दै आएको छु की म फ्रान्सेली फुटबलमा इतिहास लेख्न चाहन्छु । फाइनल मेरो लागि अर्को अवसर बनेर आएको छ,’ एमबाप्पेले भने ।

‘मा २०१७ मा आउँदा पीएसजीमा केहि समस्या थियो । अहिले हामी फाइनलमा छौं । हाम्रो निरन्तर मिहिनेतको कारण नै यो सम्भव भएको हो । फ्रान्सेली क्लबले च्याम्पियन्स लिग जितेको हेर्न नै मैले पीएसजीसँग अनुबन्धन गरेको हुँ,’ उनले थपे ।

‘ मेरो सपना सधैं उत्कृष्ट खेलाडीको सामना गर्नु थियो । उत्कृष्ट खेलाडीको सामना गर्दै हराउनु पनि पर्छ । हामी सधैंझैं आफ्नो प्रदर्शनमा ध्यान दिनेछौं । क्लब फुटबलको सर्वोच्च उपाधि पेरिसमा लाग्न चाहन्छौं,’ एमबाप्पेले भने, ‘अहिले बिनादर्शक खेल्दा पक्कै केहि कठिन छ । अहिले दर्शक मैदानमा नभएपनि हामीलाई साथ दिइरहनुभएको छ । यो निकै विशेष समय हो ।’

एमबाप्पेले फाइनलअघि आफू पूर्ण रुपमा फिट रहेको बताए । ‘दिन बित्दै जाँदा मेरो अवस्था सुध्रिएको छ । म ठिक छु । मैले चोटपछि केहि खेल खेल्न पाएर पनि फाइनलको तयारी गर्न सहज भयो,’ उनले भने, ‘म्युनिख एकदम राम्रो टोली हो । तर हरेक टोलीको कमजोर पक्ष हुन्छ नै । हामी उनीहरुको सामना गर्न तयार छौं ।’

एमबाप्पेले प्रशिक्षक थोमस टुचेलको प्रशंसा गर्दै उनले निकै साथ दिएको बताए । ‘पक्कैपनि हामी सबैले प्रशिक्षकलाई साथ दिइरहेका छौं । कतिपयले हाम्रो प्रशिक्षक स्टार खेलाडीहरु व्यवस्थापन गर्न नसक्ने बताइरहेका थिए,’ उनले भने, ‘हामीले उनकै नेतृत्वमा उत्कृष्ट नतिजा निकालिरहेका छौं । हामी च्याम्पियन्स लिगमा फाइनल खेल्दैछौं र हाम्रो मनोबल पनि उच्च छ ।’

प्रकाशित : आइतबार, भदौ ०७, २०७७०९:०१

नेयमार भर्सेस लेवान्डोस्की: को उत्कृष्ट ?