विश्वका विभिन्न देशमा निर्माण भइरहेको कोरोना भ्याक्सिन नेपालमा पनि परीक्षण हुने !

काठमाडौँ – नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले निर्माण भइरहेको कोरोना भाइरस संक्रमण विरुद्धको खोपको नेपालमा परीक्षण गर्न विभिन्न देशहरु इच्छुक रहेको बताएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा उनले भ्याक्सिनको परीक्षण नेपालमा पनि गर्न चीन, रुस र बेलायतको भ्याक्सिन कम्पनिहरु इच्छुक रहेको बताएका हुन्। सोहि अनुरुप मन्त्रालयले प्रक्रिया अगाडि बढाएको जानकारी गराए।

“क्लिनिकल ट्रायलको तेस्रो चरणमा रहेका चीन, रुस र युकेको अक्सफोर्ड भ्याक्सिन उत्पादक कम्पनिहरुले नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्न इच्छा देखाएकाले प्रक्रिया बढाइएको छ।”,उनले भने।

भ्याक्सिनको परीक्षणका लागि स्वास्थ्य मन्त्रालयको स्वीकृती लिई तेस्रो चरणको परीक्षण गर्न स्वास्थ्य अनुसन्धान परिषद्ले तत्परता देखाएको उनले जानकारी गराए।

शनिबार पनि स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. रोशन पोखरेलले कोरोना भाइरसविरुद्धको भ्याक्सिन सक्दो छिटो नेपाल ल्याउन मन्त्रालय तयारी अवस्थामा रहेको बताएका थिए।

“कोरोनाविरुद्धको भ्याक्सिनको लागि बजेट छुट्याएर राखिएको छ। भ्याक्सिन चाँडै पाउनका लागि नेपाल प्राथमिकतामा पर्नुपर्छ भनेर लबिङ गरिरहेका छौं ।”,उनले भनेका थिए।

अहिले विश्वका विभिन्न देशहरुमा कोरोना भ्याक्सिन निर्माण भैरहेको छ। रुसले विश्वकै पहिलो कोरोना भ्याक्सिन निर्माण गरेको दावी गरेको छ भने उक्त खोप विभिन्न देशहरुमा परीक्षण पनि भइरहेको छ।

प्रकाशित : आइतबार, भदौ ०७, २०७७१३:१९

मनसुन पूर्ण सक्रिय छैन, तर जोखिम भने कायमै !