‘उत्तर कोरियाली नेता किम थला परेका छन्, उनी कोमामा छन्’

एजेन्सी – एक दक्षिण कोरियाली कूटनीतिज्ञले उत्तर कोरियाली सर्वोच्च नेता किम जङ–अन थला परे र उनी कोमामा रहेको दावी गरेका छन्। किम जङ–अनले कैयौँ नीतिगत अधिकार अरूलाई सुम्पिएको खबर आइरहेका बेला एक दक्षिण कोरियाली कूटनीतिज्ञले यस्तो दावी गरेका हुन्।

गत हप्ता उत्तर कोरियाली सर्वोच्च नेता किमले तनावको स्तर कम गर्न कैयौँ नीतिगत अधिकार अरूलाई सुम्पिएको एक दक्षिण कोरियाली जासुसी संस्थाले दाबी गरेको थियो। नेशनल इन्टेलिजेन्स सर्भिसले गरेको दावीको विषयमा दक्षिण कोरियाको माथिल्लो सदनमा समेत छलफल भएको थियो।

सर्वोच्च नेता किम जङ–अनले अझै पनि पूर्ण अधिकार प्रयोग गरिरहेपनि विस्तारै आफ्नी बहिनीलाई शक्तिशाली बनाउने रणनीति अघि सारेको बताइन्छ।

तर, यस विषयलाई दक्षिण कोरियाली कूटनीतिज्ञ चाङ सोङ-मिन भने शंकाको नजरले हेर्छन्। सामान्यतया उत्तर कोरियाका कुनै पनि नेताले आफू नेतृत्व सम्हाल्ने अवस्थामा रहुन्जेल नीतिगत अधिकार अरूलाई सुम्पिने नगरेको उनी बताउँछन्। यस कारणले गर्दै किमको जिम्मेवारी अन्य व्यक्तिहरुलाई दिइनुको पछाडी केहि न केहि रहस्य रहेको उनको भनाई छ।

“मलाई थाहा भए अनुसार र देखिएका संकेतहरुका अनुसार उनको निधन भने भइसकेको छैन। तर, उनी ठीक भने पक्कै छैनन्। उनी नराम्ररी थला परेका छन्। मलाई लाग्छ की उनी कोमामा छन्।”,उनी भन्छन्,”अहिले सम्म कुनै पनि त्यहाँका शासकले आफ्नो जिम्मेवारी बिरामी नपरी अरुलाई दिएको थाहा छैन।”

साथै उनले किम जङ–अनलाई केहि नभएको प्रष्ट पार्न सार्वजनिक गरेका तस्विरहरु माथि पनि प्रश्न उठाएका छन्। किमको अवस्था ढाकछोप गर्न सार्वजनिक तस्विरहरुले किमको उपस्थिति र अवस्थालाई लुकाउन नसक्ने उनको भनाई छ।

प्रकाशित : सोमबार, भदौ ०८, २०७७०७:१७

शशांक कोइरालाको ठोकुवा – ‘मैले मात्रै देउवालाई कसैले हराउन सक्दैन’