मूल्याङ्कनमा अधिकारको दुरुपयोग: एसईई विद्यार्थीलाई बढी अङ्क दिएको पाएको पाइयो !

कोहलपुर (बाँके), गत २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको मूल्याङ्कन गर्न प्रदान गरिएको अधिकारको विद्यालयले दुरुपयोग गरेको पाइएको छ । विगत तीन वर्षको नतिजा तुलना गर्दा शिक्षकले अधिकार दुरुपयोग गरेको पुष्टि हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा नभएपछि सम्बन्धित विद्यालयका शिक्षकले नै अङ्क प्रदान गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने, त्यसलाई एकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिए अनुरूप विद्यालयले विद्यार्थीको ल्याकतभन्दा बढी अङ्क दिएको पाइएको हो । बोर्डले विद्यालयले नै पठाएको अङ्कलाई अक्षराङ्कनमा परिवर्तन गरेको हो ।

२०७६ सालको एसईईमा स्तरीकृत अङ्क (जीपीए) ३.६ देखि ४.० प्राप्त गर्ने विद्यार्थी ७८ हजार १०९ रहेको पाइएको छ । जब कि जीपीए ३.६ देखि ४.० प्राप्त गर्ने २०७४ सालमा १८ हजार ३७ जना र २०७५ सालमा १७ हजार ५८० जना थिए । गत वर्षको नतिजा अस्वाभाविक भएको विश्लेषण गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७४ सालमा करिब चार लाख ५३ हजार, २०७५ सालमा करिब चार लाख ५९ हजार र २०७६ सालमा करिब चार लाख ८२ हजार विद्यार्थी थिए । २०७६ सालको एसईईमा जीपीए ४.० ल्याउने नौ हजार ३०९ रहे । जब कि २०७४ सालमा ७४ जना र २०७५ सालमा १०६ जना थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सत्यापन गर्ने अधिकार दिइएन । जे विद्यालयले पठाए, त्यसैका आधारमा प्रमाणीकरण गरियो भन्नुभयो ।

कक्षा–१० का विद्यार्थीको अन्तिम नतिजाका आधारमा विद्यालयले मूल्याङ्कन गरेको हो । कतिपय विद्यालयले अन्तिम परीक्षा लिएका थिएनन् र एसईई परीक्षामा सम्मिलित भएका भए प्राप्त गर्न सक्ने अनुमानित प्राप्ताङ्क दिएर पठाएका थिए भने कतिपय विद्यार्थी तथा अभिभावकको दबाबमा बढी अङ्क दिएका थिए । कतिपय विद्यालयले यसलाई सुवर्ण अवसरका रूपमा लिँदै जथाभावी अङ्क दिएका थिए ।

पनिका सूत्रबाट प्राप्त नतिजा अनुसार २०७६ सालमा विद्यालयले सबैभन्दा बढी जीपीए २.४ देखि २.८ का बीचमा विद्यार्थीको मूल्याङ्कन गरेका छन् ।

कोभिड–१९ को असरले छ महिना बितिसकेको छ । त्यो बेला नै रोकिएको कक्षा–१२ को परीक्षा अहिले पनि सञ्चालन हुनसक्ने अवस्था छैन । त्यसैले त्यो बेला सरकारले एसईईको नतिजा तयार गर्ने जुन विधि अपनाएको थियो सो असल नियत र विश्वमा भएको अभ्यास अनुरूप नै थियो तर शिक्षकको गलत नियतका कारण नतिजा अस्वाभाविक देखिएको हो ।

बोर्डका अध्यक्ष डा. पौडेलले आफूहरूले परीक्षा सञ्चालन नगरेकाले विगतको भन्दा अहिलेको नतिजाबीच तुलना नगरेको प्रस्ट गर्दै यसमा भएका समस्याबारे पनि आफूहरूले विश्लेषण नगर्ने बताउनुभयो ।

नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले यस मामिलामा विद्यार्थी सरासर निर्दाेष भएको बताउँदै कहीँ कसैले गलत गरेको हुनसक्छ तर तोकिएको विधि र प्रक्रियाबाट नतिजा विश्वसनीय छ भन्ने मान्यतामा हामी छौँ भन्नुभयो । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले आगामी दिनमा पनि एसईईको मूल्याङ्कन विधि अहिलेकै अनुसार हुनुपर्ने तर्क गर्दै पहिलो वर्ष भएकाले शिक्षक अन्योलमा परेका हुन सक्छन् । यस वर्षको एसईईको नतिजामा दोष दिनुभन्दा नतिजा राष्ट्रिय परीक्षा बोर्डसम्म नलगी विद्यालयल(ाई नै जिम्मेवार बनाउनुपर्छ । त्यस्तो हुन सके शिक्षक उत्तरदायी हुन्छन् र जथाभावी हुन पाउँदैन भन्नुभयो ।

प्रकाशित : मङ्गलबार, भदौ ०९, २०७७०१:५३

अब मुलुकभरका सबै अस्पताल कोभिड अस्पताल