काठमाडौं । उपत्यकामा देखिएको कोरोना संक्रमण रोक्न परीक्षणको संख्या बढाइने भएको छ । उपत्यकामा रहेका १८ वटा पालिकाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर एक सातामा २८ हजार जनाको स्वाब परीक्षण गर्ने तयारी गरेका हुन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो समय संक्रमणदर निक्कै उच्च देखिन थालेपछि लकडाउन लगाइएको छ । भदौ १० गतेसम्म लगाइएको लकडाउनलाई बढाएर १५ गतेसम्म पुर्याउन उपत्यका नगरपालिका फोरमले जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको छ । सोमबार बसेको फोरमको बैठकले लकडाउन बढाएर कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
सोमबारमात्रै उपत्यकामा अहिलेसम्मकै रेकर्ड २२४ जना नयाँ संक्रमित फेला परेका छन् । एकैदिन सबैभन्दा धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । जसमध्ये काठमाडौंमा १७७, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
मेयर शाक्यले निषेधाज्ञालाई केही समय थप गर्न जिल्ला प्रशासनलाई सुझाव दिँदै पिसिआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाइएको बताए । यसअघि भदौ ४ देखि लागू भएको निषेधाज्ञाको अवधि १० गते राति १२ बजेसम्म तोकिएको थियो । निषेधाज्ञाको अवस्थामा उपत्यका बाहिरबाट कोही पनि नआएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने शाक्यले बताए ।
‘स्वास्थ्य मन्त्रालयको टीमसहित मंगलबारबाटै उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको कार्य अघि बढाऔँछौँ,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामी उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गर्छौ । यसमा स्वास्थ्य मन्त्रालयका अनुभवी टीम पनि हाम्रो साथमा रहने छ ।’
शाक्यले अहिलेसम्म उपत्यकाका १८ वटै पालिकाको तथ्यांक अनुसार २७ सय ४६ जना संक्रमित भेटिएको भन्दै त्यसका आधारमा करीब २८ हजार पाँच सयको कन्ट्याक्ट ट्रेसिङ गर्नु पर्ने हुनसक्ने बताए । उनले ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने पनि जानकारी दिए । ‘पीसीआर औषधी होइन त्यसैलै रहरले परीक्षण गर्नेहरुहरुलाई होइन कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका लुकेर बसेका रहेछन् भने पनि ती सबैको खोजिखोजी हामी परीक्षण गर्छौं ।
त्यसैगरी बैठकले उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहरुमध्ये अत्यावश्यक बाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि भित्रै कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न गर्ने गरी अघि बढेको उनले बताए । ‘स्वास्थ्य मन्त्रालयले १८ वटा पालिकालाई मंगलबारबाटै १८ जना फोकल पर्सन तोक्ने प्रतिवद्धता व्यक्त गरेको छ,’ उनले भने, ‘हामी उहाँहरुसँग सहकार्य गरेर फिल्डमा जान्छौँ ।’ बैठकमा उपस्थित मेयरहरुले एकीकृत आइसोलेशन निर्माण गर्ने, डेलिकेटेट एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, स्वास्थ्य मन्त्रालयले छिटो सूचना दिनुपर्ने जस्ता माग राखेका थिए ।