कालीमाटीमा सस्तो, बजारमा महंगो: बजारमा यति सम्म महँगो छ तरकारीको मूल्य !

काठमाडौं । सोमबार कालिमाटी फलफूल तथा तरकारी बजारमा रातो आलु (मुडे)को प्रति धार्नी १५० देखि १६० रुपैयाँमा विक्रि भईरहेको थियो । उपभोक्ताले भने बजारबाट प्रति धार्नी २०० देखी २२० रुपैयाँमा किन्न बाध्य भएका छन् । कालिमाटीमा थोकमा प्रतिकिलो ६१ रुपैयाँमा विक्रिवितरण भईरहेको सो आलु काठमाडौंमै उपभोक्ताले खुद्रामा प्रतिकिलो ८० रुपैयाँ तिर्नुपरेको छ । थोक भदा खुद्रामा केही महंगो हुनेभएपनि उपत्यकामै उपभोक्ता प्रतिकिलो २० रुपैयाँभन्दा बढि मुल्य तिर्न बाध्य भईरहेका छन् । लकडाउन शुरु भएसँगै तरकारीको भाउ बढ्न थालेको छ । आुलमात्र होइन्, अहिले सबैभन्दा धेरै कागती, गोलभेँडा, बोडी, भटमासको कोशा, काँक्रोमा मूल्यवृद्धि भएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

कालीमाटी बजारबाट बिक्री हुने तरकारीको थोक मूल्यमा एक साताभित्र ५८ प्रतिशतसम्म वृद्धि भएको छ । भदौ १ गते १५५ रुपैयाँ किलो रहेको कागती अहिले २४५ रुपैयाँमा पुगेको छ । त्यस्तै, सानो गोलभेँडा ४४ प्रतिशतले वृद्धि हुँदै ५५ रुपैयाँ प्रतिकिलो पुगेको छ भने टनेलको गोलभेँडा ४० बाट ६२ रुपैयाँमा पुगेको छ । बोडीको थोक मूल्य ४० प्रतिशतले वृद्धि हुँदै ६८ बाट ९५ रुपैयाँ पुगेको छ भने भटमासको कोशा ६८ रुपैयाँ किलोबाट १०५ मा पुगेको छ ।

बजारको मागअनुसार उत्पादन नभएकाले तरकारीको मूल्य आकासिएको व्यापारीहरुको दाबी छ । यसैगरी लकडाउनका कारण पनि सोचेजति तरकारी नआउँदा मुल्य महंगो पर्न गएको उनिहरुको दावी छ । कालीमाटीमा आउने तरकारीको मूख्य स्रोतमा कम उत्पादन भएको र भएको तरकारीमा खुला बजारमा खोसाखोस भएकाले मूल्य बढेको फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाले जनाएको छ ।
सामान्य अवस्थामा कालीमाटी तरकारी बजारमा दैनिक ७/८ लाख किलो तरकारी भित्रिने गरेको थियो । यो विस्तारै घट्दै गएको बजार विकास समितिले जनाएको छ । गतवर्ष ७ भदौमा ७ लाख २२ हजार किलो तरकारी भित्रिएको थियो भने यसपटक ३ लाख २४ हजार किलो मात्र आएको छ । गतवर्ष भदौ ८ मा ६ लाख ५६ हजार किलो तरकारी भित्रिएकोमा यसपटक ४० हजार किलो मात्रै आएको छ ।

बजारमा तरकारीको भाउ बढेपछि सोमबार बिहान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कालीमाटी तरकारी बजार पुगेका थिए । कोरोना संक्रमणबाट बच्न व्यवसायीले गरेको सावधानीबारे चासो राखेका उनले बजार मुल्यका विषयमा सोधीखोजी गरे । पछिल्ला दिनमा तरकारीको भाउ मन्त्रीले अनुगमन गरेको कालीमाटी तथा बल्खु बजारमा मात्र होइन, उपभोक्ताले किन्ने खुद्रा पसलमा अचाक्ली महंगिएको छ ।
लकडाउनले गर्दा कालीमाटीमा तरकारीको मूल्य बढेको मात्र छैन, केहीमा ३५ प्रतिशतसम्म मुल्य घटेको छ । लाम्चो भान्टा ५८ रुपैयाँ प्रतिकिलोबाट ४८ मा झरेको छ । तीतो करेला २५ रुपैयाँ प्रतिकिलोबाट १८, स्कुस ४८ प्रतिकिलोबाट ४५, च्याउ १९५ रुपैयाँ प्रतिकिलोबाट १२५ रुपैयाँ प्रतिकिलोमा झरेको छ । त्यस्तै, जिरीको साग, तामा, खुर्सानी, हरियो धनियाँलगायतका तरकारीको बजार मूल्य पनि सस्तो बनेको कालीमाटी बजारको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : मङ्गलबार, भदौ ०९, २०७७०३:२४

“चिउँडोमुनि मास्क लगाएर कोरोनालाई झुक्याउन सकिन्न”