काठमाडौँ – कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा कम्तीमा एक हप्ता थप्ने तयारी गरिएको छ। कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेकै अवस्थामा निषेधाज्ञा खोल्न नहुने निष्कर्ष सहित निषेधाज्ञा कम्तीमा एक हप्ता थप्ने तयारी गरिएको हो।
सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा खतरा बढेको निष्कर्ष निकालेको थियो। साथै कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने बैठकको निर्णय थियो।
जारी निषेधाज्ञाको समयावधिका लक्ष्य राखिएको जति कोरोना परिक्षण र कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिने देखिए सँगै निषेधाज्ञा कम्तीमा एक हप्ता थप्ने तयारी गर्न लागिएको बुझिएको छ।
काठमाडौँ महानगरपालिकामा १५ हजार, ललितपुर महानगरमा दुई हजार र बाँकी अन्य १६ वटा नगरपालिकामा कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर निषेधाज्ञाकै समयमा परीक्षण गरिँदै छ। त्यसको लागि अपुग हुने समय सम्मको लागि निषेधाज्ञा थप्ने तयारी छ।काठमाडौँ उपत्यकाका स्थानीय तहबाट दिइने अत्यावश्यकबाहेकका सेवा भदौ १५ गतेसम्मका लागि स्थगित भैसकेका छन्।
उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार रहेका कारण पनि अवस्था जटिल बनेको छ। काठमाडौँमा मात्रै करिब २५ सय सक्रिय संक्रमित छन्। काठमाडौँ उपत्यकामा दैनिक २ सय हाराहारीमा कोरोना संक्रमित फेला परिरहेका छन्। पहिल्लो केहि समय देखि संक्रमितहरुमा लक्षण समेत देखिन थालेको छ। जस कारण उपत्यकामा मृत्युदर पनि बढेको छ।