काठमाडौँ – पूर्वस्वास्थ्यमन्त्री एवम् नेकपा सांसद खगराज अधिकारीले रुस र चीनले बनाएको कोरोना भाइरस संक्रमण विरुद्धको खोपको नेपालमा परी क्षण गर्ने सरकारको निर्णय माथि प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको भर्चुअल मिटिङ अधिकारीले रूस र चीनको भ्याक्सिन परीक्षण के-कस्ता आधारमा गर्न लागिएको हो भने प्रश्न उठाएका छन्।
बेलायतको अक्सफोर्ड युनिभर्सिटीले आफूले निर्माण गरिरहेको खोप बारे जर्नल प्रकाशित गरिसकेको उल्लेख गर्दै रुस र चीनले त्यस्तो गरे-नगरेको विषयमा सरकारलाई थाहा छ कि छैन भनेर प्रश्न गरे। कुनै पनि देशले बनाएको खोप परीक्षणको लागि स्वीकृत गरिनु अगाडी जर्नलको राम्रो अध्ययन गरिनुपर्ने उनको भनाई छ।
“बेलायतको अक्सफोर्ड युनिभर्सिटीले जर्नलमा प्रकाशित गरेको छ। रूस र चीनको भ्याक्सिनबारे जर्नलमा प्रकाशित भए/नभएको र अनुसन्धानको मान्यता पालना भए/नभएको हेर्नुपर्छ।”,उनले भने। उनले भ्याक्सिनबारे मन्त्रिपरिषद्, मन्त्री वा सचिव कुन स्तरको निर्णय भएको हो? भन्दै प्रश्न पनि उठाए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी स्वीकृति दिएको बताइन्छ। साथै मन्त्रालयले रुसको खोपको पनि नेपालमा परीक्षण गर्ने तयारी स्वरूप प्रक्रिया अगाडी बढाएको छ।
यसै विषयमा चासो व्यक्त गर्दै पूर्वस्वास्थ्यमन्त्री एवम् नेकपा सांसद खगराज अधिकारी खोप परीक्षण प्रक्रिया अध्ययन गरेर अगाडी बढाइएको हो कि होइन भन्ने प्रश्न गरे।