विश्व स्वास्थ्य संगठन प्रतिनिधिले भने – ‘नेपालमा कोरोना संक्रमणको उग्र रुप देखिन बाँकि नै छ’

काठमाडौँ – विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको चरण नेपालमा सुरुवाती अवस्थामै रहेको बताएको छ।

संगठनका नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा कोरोनाभाइरसको संक्रमणको सुरुवाती अवस्था रहेको र भविष्यमा भयावह अवस्थाको पनि सामना हुन सक्ने बताएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा डा. जोस भ्यानडिलिएरले मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग कुराकानी गर्दै संक्रमण अझै बढ्ने चेतावनी दिए।

संक्रमणको सुरुवाती अवस्थामा रहेको नेपालले भविष्यमा थप नराम्रो र भयावह अवस्थाबाट गुज्रनु पर्ने उनको चेतवानी छ। संक्रमित संख्या थप बढ्दै गएको अवस्थामा सोचेभन्दा भयानक अवस्था आउन सक्ने उनको चेतवानी छ।

“अहिले नेपालमा संक्रमितको संख्या बढ्ने क्रममा छ। अघिल्ला महिनाहरुमा विदेशबाट आएकाहरुमा बढी देखिएको थियो । तर, अहिले अन्यलाई पनि देखिन थालेको छ। यो सुरुवातमात्रै हो। आगामी हप्ता, महिनामा अझ बढी कोरोनाका केस बढ्नेछन्। परिस्थिति अझ नराम्रो हुनेवाला छ।”,चेतवानी दिँदै उनले भने।

विश्वका अन्य देशको तथ्यांक र आँकडा हेर्दा नेपालमा संक्रमण थप बढ्न सक्ने देखिएको उनले बताए। संक्रमितको संख्यासँगै मृतकको संख्या पनि नेपालमा बढ्ने उनको भनाई छ। उनले सामाजमा पाका उमेरका मानिसहरुमा संक्रमण बढ्दै गए मृतकको संख्या पनि बढ्ने बताए ।

प्रकाशित : मङ्गलबार, भदौ ०९, २०७७१२:३९

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा !