कोरोनाको उच्च जोखिममा प्रहरी, सीमानाकामा खटिएका सशस्त्र अझ बढी जोखिममा !

काठमाडौँ – कोरोना भाइरसको जोखिम विश्वभर फैलिरहेको छ । नेपालमा पनि हामी कोरोना भाइरससँग जुधिरहेका छौँ । कुनै तह, वर्ग र समुदाय कोरोनाको जोखिमबाट अछुतो छैन । कोरोनाकै कहरका बीचमा सुरक्षका निम्ति खटिएको नेपाल प्रहरी पनि प्रभावित भएको छ । ‘चेन अफ कमान्ड’ मा चल्ने प्रहरी संगठनका आफ्नै मूल्य, मान्यता र जिम्मेवारी छ । जिम्मेवारी निर्वाहकै क्रममा देशभर सयौँ प्रहरी कर्मचारी आफैं संक्रमित भएका छन् । तर, हामी हाम्रो मूल जिम्मेवारीबाट पन्छिएका छैनौँ ।

सरकारले र संगठनले दिएको निर्देशन पालना गरिरहेका छौँ । शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र विपत्मा अग्रपंक्तिमा उभिएर प्रहरीले काम गरिरहेको छ । प्रहरीमा कोरोना भाइरस संक्रमण चाहेर पनि सहज रूपमा रोक्न सकिने अवस्था छैन । प्रहरीमा कसरी कोरोना पस्योभन्दा पनि यसका कारणबारे जानकार हुन जरुरी छ । जनताकै सुरक्षाका क्रममा हामी कोरोना संक्रमणको जोखिममा परिरहेका छौँ । कोरोना विरुद्धको युद्ध प्रहरी एक्लैले लड्ने लडाइँ होइन । प्रत्येक नागरिकले आफ्नै लागि रोगसँग लड्ने युद्ध हो कोरोना विरुद्धको सचेतना ।

सीमानाकामा जोखिम
अहिले हामी सशस्त्र प्रहरी बलको टोलीसँगै विभिन्न सीमानाकामा पनि खटिएका छौँ । सीमाबाट अपराध, चोरी, तस्करीलगायत कुरा हुने गर्छन् । नेपालमा धेरैजसो स्थानमा खुला सिमाना छ । सुरक्षाका हिसाबले त्यो निकै चुनौतीपूर्ण छ । त्यसमाथि सीमा क्षेत्रमा ठूलो चुनौती भनेको लागुऔषधिको तस्करी हो ।

लागुऔषध तस्करीजस्तो जघन्य अपराधमा संग्लनलाई हामीले नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउनै पर्छ । फेरि अपराध र अपराधीबाट पूर्वजानकारी हुँदेन । प्रायःजसो लागुऔषध तस्कर भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्न खोज्छन् । यस्तोमा उनीहरूलाई नियन्त्रणमा लिन जाँदा प्रहरी कोरोनाको जोखिममा पर्न जान्छ । अपराध रोक्ने जिम्मेवारी पूरा गर्दा प्रहरीमा जोखिम बढ्ने गरेको छ ।

क्‍वारेन्टिन सुरक्षा
अर्को हो क्‍वारेन्टिन आइसोलेसन सुरक्षामा परिचालन । जहाँ संक्रमित राखिएका हुन्छन् ती स्थानको सुरक्षा पनि प्रहरी दायित्व हो । प्रदेश–२ त कतिपय स्थानमा कोरोना संक्रमित बीचै झडप भएको अवस्था छ । क्‍वारेन्टिन भित्र नै झगडा हुने गरेको पनि पाइएको छ । यस्तोमा प्रहरीले उनीहरूलाई रोक्न वा स्थिति नियन्त्रणमा लिन जानै पर्छ । यसबाट पनि हामी कोरोनाको जोखिममा परेका छौँ ।

ट्रेसिङ र उद्धार
संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ स्वास्थ्यको टोलीले गर्छ । त्यसमा प्रहरीले पनि सहयोग गर्छ । ट्रेसिङमा आएकाहरू, संक्रमितलाई लिन प्रहरी पनि जान्छ । यस्तो अवस्थामा पनि कोरोनाको जोखिम बढी रहन्छ । यसबाहेक विपत् लगायतका उद्धारमा खटिँदा पनि कोरोनाको जोखिममा प्रहरी पर्छ ।

थुनुवाबाटै खतरा
अर्को कुरा भनेको विभिन्‍न अपराधमा संग्लन व्यक्ति वा फरार अभियुक्तलाई पक्राउ गरेपछि हिरासतमा राख्नुपर्छ । त्यसपछि कानुनी प्रक्रियामा लैजानुपर्छ । हिरासतमा राखेपछि वयानका लागि सरकारी वकिलको कार्यालय लैजाने र अदालतमा उपस्थित गराउने कार्यमा प्रहरी परिचालन हुन्छ । अपराधी समात्दासमात्दै कोरोना जाँच सम्भव हुने कुरा भएन । यस्तोमा कोही थुनुवा संक्रमित भए त्यसको जोखिम प्रहरीमा सिधै पर्छ । नागरिकजस्तै प्रहरीले अभियुक्त वा अपराधीसँग सामाजिक दुरी कायम गर्न सम्भव हुँदैन । किनभने उनीहरू भाग्‍न सक्ने भएकाले समात्नुपर्ने र सँगै हुनुपर्ने हुन्छ ।

(सौर्य दैनिकको लागि नेपाल प्रहरीका डिआइजी धीरजप्रताप सिंहको लेख)

प्रकाशित : बुधबार, भदौ १०, २०७७०३:१२

‘१५ हजार ऋण ५ वर्ष श्रम गर्दा नि तिर्न सकिन !’