काठमाडौँ – प्रहरी कार्यालय कतै खाद्य संस्थानको भवनमा छन् भने कतै खेलकुद परिषद्को कभर्डहलमा । कतै फुसले छाएका छाप्रोमा छन् भने कतै टिनको पाताले बारिएका । जहाँ आफ्नै भवन छन्, ती पनि चुहिने छन् । बनिरहेका प्रहरी कार्यालय पनि जग हालेर अलपत्र छाडिएको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।
झापा भद्रपुर–३ मेचीपारिस्थित प्रहरी चौकीमा दुईकोठे भवन र एउटा जीर्ण भान्साघर छ । १० जनाको दरबन्दी रहेको यो चौकीमा आठजना छन् । दुई कोठामध्ये एउटाबाट प्रशासनिक काम हुन्छ भने अर्कोमा ब्यारेक छ । प्रशासनिक कोठाकै एकापट्टि खाट राखेर चौकी इन्चार्ज सुत्छन् । बर्खामा भवनमा पानी चुहिएर प्रहरीलाई बस्न निकै सकस हुन्छ । टिनले बारेको भान्साघर जीर्ण भइसकेको छ । बर्खामा पानी चुहिएर खाना पकाउन समस्या हुन्छ । टिनले बारेको शौचालय बेलाबेलामा हावाले उडाइदिन्छ ।
गौरीगञ्ज–४ स्थित सीमा प्रहरी चौकी खजुरगाछीका प्रहरी एककोठे भवनमा कोच्चिएर बस्छन् । भवनका काठ पनि कुहिएर झर्न थालेका छन् । पुरानो भएको भान्साघरको टिन छियाछिया छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ । ‘प्रहरीको बिजोक त त्यहाँभन्दा के हुन्छ र ? जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित छन्,’ गौरीगन्ज–४ का वडाध्यक्ष कुलप्रसाद गिरी भन्छन् । शौचालयको सेफ्टीट्यांकी भत्किएको छ । पानी पर्दा भरिएर शौचालय गइनसक्नु हुन्छ । त्यो पनि भान्साछेउमै छ । ट्युबेलको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्, प्रहरी ।
यस्तै, तनहुँको गजरकोट प्रहरी चौकीका ६ जना प्रहरी खोल्साको पानी पिउन बाध्य छन् । उनीहरू देउराली खोल्साबाट ल्याएको पानी पिउँछन् । चौकी इन्चार्ज असई देमबहादुर बानियाँका अनुसार नजिकै खानेपानीको धारा छैन ।
पहाडका प्रहरी कार्यालय चुहिन्छन्, तराईका डुब्छन्
सिराहा कल्याणपुर–१२ बेल्हास्थित चौकीमा प्रहरीलाई वर्षाको पानीबाट जोगाउन पाल टाँगिएको छ । झ्याल, ढोका नभएकाले सर्पको जोखिम छ । भारत सीमावर्ती माडरस्थित इलाका प्रहरी कार्यालय वर्षा सुरु भएसँगै जलमग्न हुन्छ । ५० वर्ष पुरानो भवनमा प्रहरी बसेका छन् । चौकी इन्चार्ज सइ शैलेन्द्र यादव भन्छन्, ‘छतबाट प्लास्टर उप्केर जिउमै पनि खस्छ । दुःखका साथ बसेका छौँ ।’ सदरमुकाम सिराहाकै वडा प्रहरी कार्यालय ‘ख’ राखिएको नेपाल टेलिकमको भवनमा वर्षामा पानी चुहिन्छ ।