तरकारीको मुल्य पसलैपिच्छे फरक: यति महँगोमा समेत बेच्ने रहेछन् !

काठमाडौं । निषेधाज्ञाको मौका छोपेर उपत्यकाका खुद्रा तरकारी पसलले उपभोक्तासँग सकेसम्मको रकम असुल्ने गरेको खुलेको छ । विहानको समयमा खुलेका तरकारी पसलले पसलैपिच्छे फरक–फरक मुल्य निर्धारण गरेको पाइएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

व्यापारीले तरकारीको मूल्यमा व्यापक असमानता सिर्जना गरेर नाफा खान खोजेको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विहिवार राजधानीका खुद्रा पसलमा गरेको अनुगमनमा एउैट तरकारीको मूल्य पसलबीचमै किलोमा ९५ रुपैयाँसम्म अन्तर पाइएको जनाएको छ ।

विभागले राजधानीका विभिन्‍न ३३ स्थानका तरकारीको खुद्रा पसलबाट मूल्य संकलन गरेको हो । अध्ययनमा आलु धार्नीको १५० देखि १९० रुपैयाँसम्म बिक्री भएको पाइएको छ भने राम्रो आलु धार्नीको १७५ देखि २१० रुपैयाँसम्म मूल्य कायम गरिएको छ । यस्तै प्याज किलोका ४० देखि ६० रुपैयाँमा बिक्री भएको विभागको अध्ययनमा देखिएको छ । तरकारीमा बोडीको मूल्यमा सर्वाधिक अन्तर छ । बोडी कतै किलोको ७५ रुपैयाँमा बिक्री भएको छ भने कतै किलोको १ सय ८० रुपैयाँसम्म पनि बेचेको पाइएको छ । यस्तै रायको साग कतै २५ रुपैयाँमा पाइन्छ भने कतै १ सय २० रुपैयाँसम्म पर्छ ।

खुर्सानीका मूल्यमा पनि व्यापक अन्तर छ । खुर्सानी किलोको सय रुपैयाँदेखि २ सय ७० सम्ममा बेचेको पाइएको छ । करेला ४० देखि १ सय २० सम्म बिक्री हुने गरेको अध्ययनले देखाउँछ । उपत्यकाका कलंकी, कीर्तिपुर, कुसुन्ती, लेले, गोंगबु, बुद्धनगर, आलोकनगर, जोरपाटी, मूलपानी, कालिमाटी, गठ्ठाघर, बालकोट, नैकाप, पेप्सीकोला, टोखा, टिकाथलीलगायत स्थान गरेको अनुगमनमा प्रत्येक पसलमा तरकारीको मूल्य फरक पाइएको विभागका निर्देशक रबिन्द्र आचार्यले जानकारी दिए ।

‘बिहिवार बिहान गरिएको अनुगमनका क्रममा तरकारीको मूल्य पसलैपच्छिे फरक पाइयो’, उनले भने, ‘अनुगमन गरिएका पसलमा ४० प्रकारका तरकारीको पसलैपिच्छे फरक मूल्यमा बिक्री भइरहेको पायौं ।’ उनीहरूले होलसेल बजारबाट किनेर ल्याएको तरकारीलाई फरक÷फरक जिल्ला र स्थान उतपादन भएको बताउँदै फरक मूल्य कायम गर्ने गरेका छन् । व्यापारीले अत्यावश्यक वस्तुको सूचीमा पर्ने तरकारीमा आफुखुसी मूल्य कायम गर्दा उपभोक्तालाई मार पर्ने गरेको छ ।

प्रकाशित : शुक्रबार, भदौ १२, २०७७०३:४९

मृत्युपछि पनि कोरोना रिपोर्ट समयमै पाउन गार्हो !