काठमाडौँ- कागेश्वरी मनोहरा नगरपालिकामा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। शुक्रबार कागेश्वरी मनोहरामा एक स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। कोरोना पुष्टि भएकाहरुमा एक महिला र एक पुरुष छन्।
नगरपालिकाका एकजना कर्मचारी र नगरपालिका ५ स्थित डाँछी स्वास्थ्य चौकी थलीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको नगरपालिकाले जनाएको छ। स्वास्थ्यकर्मीमा कोरोनाको पुष्टि भएसँगै स्वास्थ्य चौकी सिल गरिएको छ।
स्वास्थ्य चौकीबाट हुँदै आएको बर्थिङ सम्बन्धि सेवा आलापोट स्वास्थ्य चौकीबाट दिने र अन्य सेवा वडा न ४ मा रहेको सहरी स्वास्थ्य केन्द्रबाट दिन थालिएको छ। सिल गरिएको स्वास्थ्य चौकी डिस इन्फेक्सन गरेपछि मात्रै संचालनमा ल्याइने बताइएको छ। कोरोना पुष्टि भएका कर्मचारी नगर अस्पतालमा र अन्य कर्मचारीहरु होम आइसोलेसनमा राखिएको छ।
शुक्रबारको थप पुष्टि सँगै कागेश्वरी मनोहरा नगरपालिका संक्रमितको संख्या १०५ पुगेको छ। नगरपालिकामा कोरोना समुदायस्तरमै फैलिएको छ भने सबै भन्दा बढी कोरोना संक्रमित ७ र ९ नम्बर वडामा फेला परेका छन्।