काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले रचना गरेको गीत सार्वजनिक भएको छ। गौतमको लेखन तथा रचनामा रहेको गीत ‘यो बुद्ध भूमी’ युट्युब मार्फत सार्वजनिक भएको हो।
राष्ट्रभक्ति भावले भरिएको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भनेका छन् भने मनोहर सुनामले एरेन्ज गरेका छन्। गीतमा रोशनराज गुरुङ ,माण्डवी त्रिपाठी र अंजना गुरुङलगायतले स्वर देखिएका छन्।
सार्वजनिक गीतको भिडियोमा विशेष गरेर शान्तिका दूत गौतम बुद्ध सँग-सँगै नेपालको प्राकृतिक सुन्दरता र नेपाली कला संस्कृति पनि देखाइएको छ। गीतको भिडियोमा जीवन थापाको निर्देशन छ। नेपालको प्राकृतिक सुन्दरता र नेपाली कला संस्कृतिलाई क्यामरामा दीर्घ गुरुङले उतारेका छन्।
गीतकार गौतमले आफ्ना ४३ गीतलाई गीति संग्रह प्रकाशनमा समेत ल्याएका छन्। संग्रहमा सार्वजनिक भएका र सार्वजनिक हुन बाँकी सबै गीत समावेश गरिएको छ।
साहित्यमा विशेष चासो राख्ने नेता गौतमका यस अगाडी पनि दर्जनौ गीत सार्वजनिक भइसकेका छन्। गौतम आफू विद्यालय जीवनदेखि कविता प्रेमी रहेको बताउँछन्।