उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त गर्नेलाई आंशिक शिक्षक नियुक्ति दिने तयारी !

काठमाडौैँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब उत्कृष्ट विद्यार्थीलाई अध्यापनका लागि प्राथमिकता दिने गरी बाटो खोलेको हो । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले विश्वविद्यालयका अतिरिक्त कक्षामा शिक्षकको व्यवस्थापन नयाँ तरिकाले गर्ने उद्देश्यले निर्देशिका जारी गरी कार्यान्वयनका लागि सबै क्याम्पस प्रमुखलाई पठाइएको जानकारी दिनुभयो । भदौ १ बाट लागू हुने गरी यो निर्देशिका जारी गरिएको जानकारी त्रिविले दिएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

आंशिक शिक्षक अब करार नहुने

नयाँ निर्देशिकाअनुसार अब विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई करार नबनाइने भएको छ । यसअघि आंशिक शिक्षकलाई करार गर्ने प्रावधान विश्वविद्यालयमा थियो । करार शिक्षकको सेवासमेत सुनिश्चित गरिएको थियो । अब भने नयाँ तरिकाले शिक्षक नियुक्ति र व्यवस्थापन गरिने भएको छ । सोअनुसार प्रतिक्रेडिट प्रणालीअनुसार कक्षा लिन प्रतिक्रेडिट १५ हजार रुपियाँका दरले र प्रतिपिरियड पाँच सय रुपियाँका दरले भुक्तानी दिने गरी शिक्षकलाई पारिश्रमिक दिइने भएको छ ।

सेमेस्टर प्रणालीको हकमा पाँच महिना र वार्षिक प्रणालीको हकमा १० महिना अध्यापन गर्ने अवधिका आधारमा शिक्षकलाई भुक्तानी दिइने जनाइएको छ । एकै शैक्षिक सत्रमा तीन क्रेडिटभन्दा कम वा एक सय पूर्णाङ्कको कोर्स वा विषयभन्दा कम कक्षाभार लिने गरी कुनै पनि व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको अध्यापन कार्यमा सम्झौता गराउन नपाइने प्रावधान बनाइएको छ ।

यसका साथै विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत भएका शिक्षक तथा त्रिवि सेवा आयोगले प्रकाशित गरेको नतिजामा वैकल्पिक सूचीमा रहेका व्यक्तिलाई अतिरिक्त कक्षा अध्यापनमा सहभागी गराउने नीति लिएको छ । विश्वविद्यालयले अवकाश प्राप्त शिक्षकले अवकाशपछि कक्षा लिन चाहेमा त्यस्ता शिक्षकबाट पनि सेवा लिने व्यवस्था मिलाउन मातहतका क्याम्पसलाई निर्देश गरेको छ ।

केन्द्रीय कार्यालयको स्वीकृतिपछि त्रिवि सेवा आयोगको प्रक्रिया पूरा गरेर मात्र अतिरिक्त कक्षा व्यवस्थापनका लागि शिक्षक छनोट गर्न विश्वविद्यालयले क्याम्पसहरूलाई परिपत्र गरेको छ । यसअघि क्याम्पसले आफूखुसी शिक्षकको नयाँ भर्ना गर्ने गरेका थिए । अब पनि क्याम्पसले नै नयाँ शिक्षक नियुक्ति गर्ने भए पनि स्वीकृति लिनुपर्ने प्रावधानमा कडाइ गरिएको हो ।

पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले विश्वविद्यालयबाट निर्देशिका प्राप्त भएको उल्लेख गर्दै यसको कार्यान्वयन सुरु हुने बताउनुभयो । अब क्याम्पसले आंशिक शिक्षक नियुक्ति गर्दासमेत सार्वजनिक रूपमा सूचना गर्नुपर्ने, उम्मेदवारको कक्षा प्रस्तुति र अन्तर्वार्ता गरेर मात्र छनोट गर्नुपर्ने भएको छ । अन्य निकायमा कार्यरत व्यक्ति भएको अवस्थामा विज्ञका रूपमा मात्रै नियुक्त गर्न पाइनेछ ।

यसअघि स्वीकृति लिएर प्रक्रियाबाट छनोट भएका शिक्षक तथा २०७२ असार मसान्तसम्म प्रक्रियागत रूपमा छनोट भएका शिक्षकलाई कोर्स सम्झौता गर्न सकिने जनाइएको छ । २०७२ असारपछि नियुक्त भएका आंशिक शिक्षकका हकमा भने सम्बद्ध विभागीय प्रमुखले शिक्षकको आवश्यकता पुष्टि हुने गरी आगामी असोज १५ भित्र सिफारिस गर्नुपर्ने तय गरिएको छ । ती शिक्षकको पनि नियुक्ति प्रक्रिया भने मिलेको हुनुपर्ने जनाइएको छ ।

प्रकाशित : शनिबार, भदौ १३, २०७७०३:१३

उपत्यका प्रवेशमै रोक्दै स्थानीय तह