काठमाडौँ – पाल्पा जिल्ला स्थित बगनासकाली गाउँपालिका ७ रानीघाटदेखि सदरमुकाम तानसेनसम्म आउने सडक एक वर्ष पनि नपुग्दै भत्किएको छ।
रानीघाट–दैलातुङ सडकखण्ड अन्तर्गतको खानीगाउँमा सडक पीच (कालोपत्रे) भएको ६ महिना नपुग्दै भत्किएको हो। माथिबाट झरेको पहिरोका कारण अहिले सो सडक पूर्णरुपमा भत्किएको छ।
क्षतविक्षत बनेको सडक चिराचिरा परेर भासिएसँगै त्यस ठाउँमा सडक नै अर्को बनाउनुपर्ने भएको छ। पहिरोले बगाएको र भासिएको ठाउँमा सडक मर्मत हुनसक्ने अवस्था नै छैन। त्यहाँ ट्रयाक नै परिवर्तन गर्नुपर्ने अवस्था छ।
प्रयोगमा नआउँदै कालोपत्रे सडक भत्किएपछि अहिले त्यहाँका स्थानीय आक्रोशित छन्। बजेट सकाउने नाममा हतारमा सडक कालोपत्रे गर्दा अहिले सडक काम नलाग्ने अवस्थामा पुगेको स्थानीयहरु बताउँछन्। सरकारी कार्यालय र ठेकेदारको लापरवाहीले गर्दा आफूहरुले दुख पाएको स्थानीयहरुको भनाई छ।
“कालोपत्रे गरेको सडकबाट बिरामी बोकेर हिँड्न समेत सकिने स्थिति छैन। सडक भत्किएर बिजोक भएको छ। सरकारी कार्यालय र ठेकेदारको लापरवाहीले गर्दा बजेट रकम बालुवामा पानी खनाएजस्तै भयो।”,एक स्थानीय भन्छन्।
भौगोलिक अवस्थाको सर्वे नगरी हतार सडक कालोपत्रे गर्दा अहिले यस्तो अवस्था भएको र प्रक्रिया पूरा नगरी एक्कासी कालोपत्रे गर्दा राज्यको ठूलो रकम दूरूपयोग भएको स्थानीयहरुको आरोप छ।