एजेन्सी – यति बेला युरोपका सम्पूर्ण ठूला क्लब ‘हाइअलर्ट’मा छन्। बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले क्लब छाड्ने निर्णय गरेसँगै मेस्सीलाई ल्याउन युरोपक ठूला-ठूला क्लबहरु ‘हाइअलर्ट’मा बसेका हुन्।
म्यानचेस्टर सिटि, पेरिस सेन्ट जर्मेन (पिएसजी), इन्टर, युभेन्टस लगायत क्लबले मेस्सी माथि चासो राखेको बताइन्छ। यी बाहेक अन्य क्लब मेस्सीलाई ल्याउन सक्ने आर्थिक हैसियतमा पनि छैनन्। यी क्लब मेस्सीलाई आफ्नो क्लबमा लैजान आर्थिक रुपमा केहि सहज अवस्थामा रहेपनि सहज हुने भने देखिँदैन।
अहिले मेस्सी युभेन्टस जान सक्ने विषय बारे पनि चर्चा शुरु भएको छ। फुटबल इटालियाका अनुसार मेस्सी ल्याउने दौडमा अहिले युभेन्टस पनि गम्भीरताका साथ अगाडी बढिरहेको छ।
मेस्सीले बार्सिलोना छाड्ने निर्णय बारे स्पष्ट बनाइसके लगतै युभेन्टसले त्यस विषयलाई गम्भीरताका साथ हेरिरहेको र आवश्यक प्रक्रियाको लागि तयारी अवस्थामा बसेको फुटबल इटालियाको दावी छ। साथै युभेन्टसले मेस्सीका पितालाई भेट्ने कोशिश समेत गरेको दावी गरिएको छ।
मेस्सीलाई युभेन्टस ल्याउँदा ठूलो आर्थिक भार पर्ने भएपनि मेस्सी र रोनाल्डो एकै क्लबमा हुँदा त्यसले आर्थिक रुपमा दिने लाभ धेरै नै आकर्षक हुने स्पष्ट छ।
यस अगाडी युभेन्टस खेलाडी क्रिस्टियानो रोनाल्डोले मेस्सीलाई इटाली आउन प्रोत्साहित गरेको इतिहाँस छ। रोनाल्डोले विभिन्न अवसरमा मेस्सीलाई सार्वजनिक रुपमै इटाली आउन आग्रह गरिसकेका छन्।
मेस्सी र रोनाल्डो एकै क्लबमा हुने कुरा अहिले सम्म कथा जस्तै छ। तर, युभेन्टस मेस्सी ल्याउन सफल भएमा त्यो पल फुटबल इतिहाँसकै सबै भन्दा स्वर्णिम पल बन्नेछ।