काठमाडौँ – समयमै उपचार नपाएपछि दैलेखमा एक सुत्केरीको ज्यान गएको छ। दैलेखको ठाटिकाँध गाउँपालिका– १ मा २३ वर्षिया पार्वती शाहीको समयमा उपचार नभएपछि शुक्रबार निधन भएको हो।
शाहीले शुक्रबार गाउँपालिकाको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा छोरी जन्माएकी थिइन्। छोरी जन्मेको १ घण्टाभित्रै रक्तश्राव भएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।
मृतककी भतिजा सर्जन शाहीका अनुसार शुक्रवार बिहान ११ बजे भर्ना गरिएकी पार्वतीले दिउँसो तीन बजे छोरी जन्माएकी थिइन्। स्वास्थ्य केन्द्रले समयमै रेफर नगर्दा र उपचारको लागि गाउँपालिकाले हेलिकप्टरको व्यवस्था नगरिदिँदा उनको ज्यान गएको शाही बताउँछन्।
“छोरी जन्मिएपछि अत्याधिक रक्तश्राव भयो, स्वास्थ्य केन्द्रले समयमै रेफर गरिदिएन। हामीले अस्पताल प्रशासनलाई बारम्बार आग्रह गर्यौँ, यहाँ सञ्चो हुँदैन भने रिफर गर्नुहोस्, हामी जिल्ला बाहिर उपचार गर्न लैजान्छौँ भन्यौँ, तर स्वास्थ्य केन्द्रले मानेन, अन्तिमा अवस्थामा आउँदा रिफर गर्यो । स्वास्थ्य केन्द्र र ठाटीकाँध गाउँपालिकाको लापरवाहीले गर्दा मेरो अन्टीलेको मृत्यु भएको हो।”,उनले भने।
समयमै उपचार नपाएर सुत्केरीको ज्यान गएपछि अहिले उनका आफन्त आक्रोशित छन्। सुत्केरीको ज्यान गएपछि शनिबार गाउँपालिकामा तनाब शिर्जना भएको छ ।
गाउँपालिकाभित्र रहेका एम्बुलेन्स विग्रेको र समयमै एम्बुलन्स नबनाएका कारण सुत्केरीको मृत्यु भएको स्थानीयलप आरोप छ ।