लियोनल मेस्सीले बार्सिलोना छाड्ने कुराले विश्व फुटबल नै तातेको समयमा म्यानचेस्टर सिटीका पूर्व खेलाडीले मेस्सी सिटीका लागि उत्कृष्ट चाल हुने बताएका छन्। “मेस्सी अझै पनि जादुमय छन् र बढ्दो उमेरका साथ पनि उनी सिटीका लागि उत्कृष्ट अनुबन्ध साबित हुनेछन्” माइका रिचार्ड्सले बताए।
गत हप्ता मेस्सीले बार्सिलोनालाई क्लब छाड्ने जानकारी दिएसँगै सिटी उनको अघिल्लो क्लब हुने सम्भावना प्रवल रहेको बताइदै आएको छ। केहि क्लबले मात्र मेस्सीको पारिश्रमिक र ट्रान्सफर फी तिर्न सक्नेमा म्यानचेस्टर सिटी उक्त क्लब मध्य एक पर्छ। क्लबका प्रशिक्षक पेप ग्वार्डीओला र खेलाडी सेर्जियो अग्वेरो क्लबमा रहेका कारण पनि सिटीले मेस्सीलाई अनुबन्ध गर्ने सम्भावना रहेको धेरैले विश्वास गरेका छन्।
रिचार्ड्स पनि मेस्सी सिटी आउने आशा रहेको बताउँछन्। उनी विश्वास गर्छन् कि ३३ वर्षको उमेरमा पनि मेस्सी प्रिमियर लिगमा सफल हुन्छन्। ललिगा भन्दा अन्य लिग नखेलेका र उमेरको दोस्रो पाटोमा भएपनि उनी लिगमा उत्कृष्ट प्रदर्शन गर्न सक्नेमा माइका विश्वस्त छन्।
एक दशकसम्म फुटबलको शिखरमा रहन सफल मेस्सीको बारेमा बोल्दै रिचार्ड्सले स्काई सपोर्ट्सलाई भने,”एक फुटबल प्रेमीको रूपमा म मेस्सीलाई प्रिमियर लिगमा खेलेको हेर्न एकदम खुसी हुनेछ। प्रिमियर लिगमा मेस्सी हुनु भनेको गज्जबको कुरा हो तर बार्सिलोनाले मेस्सीलाई सजिलै जान दिँदैन।”
‘मेस्सी ३३ वर्षका भइसके तर मैले न्यापोली विरुद्ध उनको खेल हेरेको थिए र सोच्न बाध्य भए कि उनी अझै पनि पहिले जस्तै जादुगर हुन्। उनीमा अझै उच्च स्तरको फुटबल बाँकी छ।’ रिचार्ड्सले भने। यदि सिटीले उनलाई अनुबन्ध गरे भने त्यो अविश्वसनीय हुनेछ।