एजेन्सी – पछिल्लो अर्जेन्टिना सुपर स्टार लियोनेल मेस्सी र क्लब बार्सिलोना बीच तिक्तता बढ्दै गएको छ। मेस्सीले क्लब छाड्ने स्पष्ट पारिसक्दा बार्सिलोना भने मेस्सीलाई कसरी अड्काउन सकिन्छ भने योजना बुनिरहेको छ। सके सम्म मेस्सीलाई बार्सिलोनामै रोक्ने क्लबको योजना छ।
स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी र क्लबबीच रहेको सम्झौता कहिले सकिने र उनको रिलिज क्लज कति हुने भन्ने विषयले थप गम्भीर रुप लिने देखिएको छ।
बार्सिलोनाले आफ्ना कप्तान तथा सुपर स्टार फरवार्ड लियोनेल मेस्सीले रिलिज क्लज तोके सँगै अहिले मेस्सी र क्लब बीच तिक्तता थप बढेको बताइन्छ।
यस सम्बन्धमा ला लिगाले पनि आफ्नो धारणा राखेको छ। लालिगाले बार्सिलोनाको पक्ष लिँदै लियोनल मेस्सी र क्लबबीच रहेको सम्झौता आउँदो सिजनमा मात्र सकिने र उनको ७०० मिलियन युरोको रिलिज क्लज कायम रहेकाले अहिले त्यति रकमबिना क्लब छाडेर जान नपाउने स्पष्ट पारेको छ।
यस निर्णय बारे ला-लिगाले एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको हो। मेस्सीले बार्सिलोना छाड्दा ला-लिगालाई पुग्ने घाटालाई लिएर ला-लिगाले क्लबको पक्षमा निर्णय सुनाएको आरोप लगाउन थालिएको छ।
ला लिगाको पछिल्लो विज्ञप्तीसँगै विश्वका कुनै पनि क्लबले मेस्सीलाई लैजान थप कठिन बन्ने देखिएको छ। कोरोना महामारीका कारण क्लबहरु माथि परेको आर्थिक भारका कारण ७०० मिलियनको रिलिज क्लज तिर्न कुनै पनि क्लबलाई सहज छैन। यस विषय अब अदालत सम्म पनि पुग्न सक्ने देखिन्छ। क्लब छाड्ने विषयलाई लिएर मेस्सी र बार्सिलोना बीच मुद्दा-मामिला पनि हुन सक्छ।