काठमाडौँ – कोटेश्वर-जडीबुटी सडक खण्ड ८ लेनमा विस्तार गरिने भएको छ। काठमाडौँ उपत्यकाकै सबै भन्दा बढी सवारी जाम हुने कोटेश्वर-जडीबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्न लागिएको हो। लेन विस्तारको उक्त कार्य शुरु भइसकेको छ।
उक्त सडक खण्डमा दक्षिणतिर दुई लेन र उत्तरतिर दुई लेन थप गर्दै सडक फराकिलो बनाइने छ। सरकारले उक्त लेन बिस्तार ६ महिनामै सकाउने योजना बनाएको छ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ लेन विस्तारको कार्य करिब ६ महिनाभित्र सम्पन्न गर्ने योजना बनाएको जानकारी दिए। सबैभन्दा बढी जाम हुने क्षेत्रमा विस्तारपछि यातायात सहज हुने उनको भनाई छ।
२ लेन पेप्सीकोला र २ लेन ललितपुर जाने सवारी पासका लागि प्रयोग हुने र बीचका ४ लेन सिधै कोटेश्वर-जडीबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गर्न लागिएको मन्त्री नेम्बाङको भनाई छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त कार्य शुरु भएको सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख कुबेर नेपालीले बताए। हाललाई जाम कम गर्न लेन थप्न लागिएको भएपनि त्यस क्षेत्रमा अन्डरपास बनाउने सरकारको योजना रहेको बताइएको छ।
४ लेन सडक थपिएपछि ४० प्रतिशत सम्म जाम कम हुने सरकारको अनुमान छ। सडक विस्तार गर्न लागिएको क्षेत्रमा रहेका नीजि क्षेत्रमा बनेका घरलाई मुआब्जाको व्यवस्था गरिने मन्त्री नेम्बाङले बताए।
यो साता नै टेण्डर खुला गरिने पनि मन्त्री नेम्बाङको भनाई छ।