काठमाडौं । ठेकदारले मुनाफा कमाउने दाउले समयमा मल ल्याउन आनाकानी गरेपछि सरकारले युरिया मल पैँचो मागेको छ । सरकार भन्दा ठेकदार कति बलियो हुन्छ भन्ने कुरा यस घटनाले पुष्टि गरिदिएको हो । किसान मल नपाएर छट्पट्टिमा परिरहेका बेला ठेकदार भने ठेक्का लिएर चुपचाप बसेको छ । तर, किसानलाई समयमै मल दिन सरकार भने बंगलादेशसँग फोन नै गरेर मल पैँचो मागिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गर्दै मल पैँचो दिन आग्रह गरेका हुन् ।
बंगलादेशले मल बेच्ने नगरेका कारण उच्चस्तरीय पहल गर्दै पैँचो मागिएको हो । प्रधानमन्त्री ओलीले हसिनासँग मंगलबार अपरान्ह टेलिफोनमा ५० हजार टन यूनिया मल पठाइदिन आग्रह गरेका हुन् । यो सिजनको लागि करिब १ लाख ५० हजार टन यूरिया मल आवश्यक पर्ने र नपुग ५० हजार टन बंगलादेशसँग पैँचोमा मागिएको कृषी मन्त्री धनश्याम भुसालले बताए । ‘बंगलादेशको यूरिया मल बेच्ने नीति छैन । मागेको पैँचो नै हो । तर, उच्च स्तरको राजनीतिक तहमा कुरा हुनुपर्ने भएकाले प्रधानमन्त्रीज्यूले कुराकानी गर्नुभएको हो’, उनले भने । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
मन्त्री भुसालले केही समय अगाडि नै बंगलादेशसँग मल सापटी लिने विषयमा छलफल गरेका थिए । पछिल्लोपटक बंगलादेश सकारात्मक भएपछि प्रधानमन्त्रीस्तरमा कुराकानी भएको हो । प्रधानमन्त्री ओलीले पनि वार्ता सकरात्मक भएको प्रतिक्रिया दिएका छन् । ‘आज दिउँसो बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धका अनेकौँ पक्षबारे मैले फलदायी टेलिफोन संवाद गरें’, प्रधानमन्त्री ओलीले संवादलगत्तै ट्विट गर्दै भने, ‘यो बालीको सिजनमा तत्काल युरिया आपूर्ति गर्ने मेरो आग्रहलाई उहाँले सकारात्मक रुपमा लिनुभएको छ ।’
सरकारलाई मल पैँचो माग्न बाध्य बनाउने ठेकदार हुन्, शारदा अधिकारीको शैलुङ र हुमनाथ कोइरालाको होनिको मल्टिपल । अधिकारी निर्माण क्षेत्रमा धेरै आयोजना अलपत्र पार्ने नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् । कोइरालापनि निर्माण क्षेत्रका काम अलपत्र पार्ने चर्चित ठेकदार हुन् । पहिलो चोटी ठेक्का हालेको शैलुङले ठेक्का पाएको थियो । निक्कै सस्तोमा ठेक्का हालेर रकम हत्याएको यी कम्पनीले २५÷२५ टन मल ल्याउने जिम्मेवारी पाएका थिए ।
सम्झौता भएपछि एलसी (प्रतितपत्र) खोलेको मितिदेखि लागू हुनेगरी उनीहरूलाई ११७ दिनको समय दिइएको थियो । परिस्थिति अनुसार केही समय अनुकूल गरिदिए पनि उनीहरूले मल ल्याउने सम्भावना भने छैन । यी दुई कम्पनीले चीन र मध्यपूर्वका देशबाट युरिया ल्याउने भनेका थिए । सबैभन्दा कम कबोल गरेपछि होनिकोसँग प्रतिटन ३०९. ९ अमेरिकी डलर र शैलुङसँग प्रतिटन ३२०.२५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो ।
भदौं २० गतेभित्र नेपालमा मल ल्याउनुपर्ने सम्झौतामा उल्लेख छ । तर, सम्झौता अनुसार मल ल्याउन नसक्ने भएपछि कृषि मन्त्रालयले दुवै कम्पनीलाई क्षतिपूर्ति र भविष्यमासमेत अयोग्य हुनेगरी कारबाहीको तयारी गरिरहेको छ । शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीलाई मन्त्रालयले कारबाही गर्ने तयारी थाल्ने सचिव राजेन्द्रप्रसाद भारीले बताए । दुवैसँग ठेक्का रद्ध गरी धरौटी जफत गर्न सकिने उनले बताए ।
‘दुवै कम्पनीले ११७ दिनको समयमा मल ल्याउन नसक्ने लगभग निश्चित भइसकेको छ, मन्त्रालय उनीहरूको बैंक धरौटी जफत गरी ठेक्का तोड्ने प्रक्रियामा जान्छ,’ भारीले भने । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार दुवै कम्पनीले एक बोरा पनि मल नेपाल ल्याएनन् । हाल देशभरि युरिया मलको अभाव हुनु पनि यी दुई कम्पनीकै कारण भएको भारीले बताए ।