एजेन्सी – लियोनेल मेस्सी बार्सिलोनामै रहुन भन्ने आफूहरुको इच्छा रहेको सर्जियो रामोसले बताएका छन्। बार्सिलोना छाड्ने अथवा नछाड्ने भन्ने कुरा मेस्सीमै निहित हुने कुरा रहेको भएपनि आफूहरुले भने मेस्सी स्पेनमै रहुन भन्ने सोचेको उनले बताए।
‘स्पेनिस फुटबल, बार्सिलोना र हाम्रो लागि पनि मेस्सीको उपस्थितले विशेष महत्व राख्छ। हामी उनी स्पेनमै रहुन भन्ने चाहँन्छौँ। लियोको उपस्थितले स्पेनिश लिग, उनको टीम र क्लासिको राम्रो बनाउँछ।”,एक पत्रकार सम्मेलनमा रामोसले भने। मेस्सी विश्वका उत्कृष्ट फुटबल खेलाडी मध्ये एक रहेका कारण पनि आफूले उनी स्पेनमै रहुन भन्ने चाहेको उनको भनाई छ।
“मेस्सी विश्वका उत्कृष्ट खेलाडी हुन्। उत्कृष्ट खेलाडीलाई हराउन कसलाई मन हुँदैन र ? उनलाई हराउन सक्नुले छुट्टै महत्व राख्छ।”,उनले भनेका छन्।
मेस्सीको बहिर्गमनको विषयलाई लिएर विकशित भएको घटनाक्रम देखि भने रामोस चिन्तित छन्। मेस्सी र क्लब बीच बढिरहेको दूरीलाई उनले राम्रो मानेका छैनन्।
मेस्सीले क्लब छाड्न चाहेको पत्र पठाएयता उनी र क्लबबीच सम्बन्ध चिसिएको छ । मेस्सी कुनै पनि अवस्थामा बार्सिलोना छाड्न खोजिरहेका छन्। ला लिगाले पनि मेस्सीले क्लब छाड्ने अवस्थामा ७ सय मिलियन युरो रिलिज क्लज सम्झौतामा उल्लेख रहेको बताएको छ । मेस्सी भने सम्झौताको अन्तिम वर्ष उक्त प्रावधान लागु नहुने दावी गरिरहेका थिए ।