विष्णु पौडेललाई अर्थमन्त्री बनाउने ओलीको योजना !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा लैजाने विषयले विवाद बढ्दै गएको छ।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडालाई नियुक्त गर्ने मनसाय बनाएका छन्। तर, वामदेवले राष्ट्रियसभामा जाने अडान लिएसँगै सत्तारुढ नेकपा भित्र विभिन्न विकल्पहरु बारे छलफल भइरहेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभामा लैजान नमिलेको खण्डमा कसलाई अर्थमन्त्री बनाउने भन्ने बारे पनि नेकपा भित्र छलफल भइरहेको छ।

ओलीले उपाध्यक्ष वामदेव गौतमलाई चुनाव लडेरै सांसद्‌ बन्‍न आग्रह गरेपनि ओली यति बेला सङ्कटमा छन्। अर्थमन्त्रालयमा आफू निकट व्यक्ति राख्ने
ओलीको योजना छ। तर, अर्थमन्त्री बन्ने वामदेवले चाहना राखेका छन्।

खतिवडालाई पुनः राष्ट्रियसभामा लैजान नसकिने अवस्था देखिएसँगै ओलीले विष्णु पौडेललाई अर्थमन्त्री बनाउने योजना बनाएका छन्। ओली निकट नेताहरुका अनुसार ओली यति बेला पौडेललाई क्याबिनेटमा लैजाने विषयमा छलफल गरिरहेका छन्। बालुवाटार श्रोतका अनुसार पौडेललाई क्याबिनेटमा लैजाने विषयमा अध्यक्ष दाहालसँगको भेटका क्रममा ओलीले प्रस्ताव राखेको बताइएको छ।

वामदेवको पक्षमा सचिवालय

वामदेवलाई राष्ट्रियसभामा लैजाने विषयमा नेकपा सचिवालयका अधिकांश सदस्य सहमत छन्। सचिवालयका बहुमत सदस्य वामदेवको पक्षमा रहेको बताइन्छ। पार्टीका अर्का अध्यक्ष प्रचण्डले समेत वामदेवलाई साथ दिने पक्का भएको छ।

लगभग साम्य भैसकेको नेकपा भित्रको विवाद वामदेवको राष्ट्रियसभा मोहले पुनः बल्जिएको छ। राष्ट्रियसभाबाट संसद प्रवेश गरेर उपप्रधान तथा अर्थमन्त्री बन्ने चाहना राखेका कारण ओली थप सङ्कटमा छन्।

प्रकाशित : बिहिबार, भदौ १८, २०७७०६:२१

कोरोना नियन्त्रणमा सहयोग पुर्याउन सांसद बस्नेतद्वारा मोटरसाइकल प्रदान !