काठमाडौँ – काठमाडौँस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर थिच्दा आज एक जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा डोजरसहित च्यापिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनलाई उद्धार गरेर उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।
अन्य मानवीय क्षति भने भएको छैन । भूकम्पले भत्काएपछि अहिले धरहरा पुनःनिर्माण चलिरहेको छ । साविक गोश्वारा हुलाक रहेको क्षेत्रसमेत जोडेर धरहराको परिसर फराकिलो बनाउने क्रममा उक्त घटना भएको हो ।