काठमाडौँ – धादिङमा एक युवकले ६५ वर्षीय पुरूषको ज्यान लिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार २६ वर्षीय राजु परियारले ६५ वर्षीय सोम बहादुर गुरूङको ज्यान लिएका हुन्।
सामान्य विवाद हुँदा आवेशमा आएर परियारले गुरूङको ज्यान लिएको र बिहिबार रातिनै प्रहरी कार्यालय पुगी आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।
उनका अनुसार घटना बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका-१३ खलचेत भन्ने ठाँउमा भएको हो। घटना घटाउन खुर्पा प्रयोग भएको र घटना घटाउनेले खुर्पा सहित आत्मसमर्पण गरेको बताइएको छ। घटना घटाएपछि परियारले राति १ बजे झोलामा टाउको बोकेर प्रहरी कार्यालय पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।
प्रहरीले घटनास्थलमा पुगी मुचुल्का उठाइसकेको छ भने शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिएको छ।